मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री

कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन् । उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् ।   
 
माओवादीले समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको भन्दै उनले थपे, “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन । एउटाले होइन, दुईटाले मागेका छन्, मागेको माग्यै छन् ।” “मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि लिँदैनन् । अनि राजीनामा माग्दछन् । समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि”, उनले भने । 
 
प्रधानमन्त्री ओलीले संसदीय अंक गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताए । “कहिले देशको आवश्यकता र संसद्को गणित फरक पर्छ । कहिले कृत्रिम ढङ्गले केही मानिसले संसदीय गणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्”, उनले भने, “संसदीय अंक गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अंक गणितमा यदि अनुपयुक्त खेल भइरहेको छ भने त्यसले अनुपयुक्त आकार लिइरहेको छ । त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ । त्यस्तो अवस्थामा संसदीय अंक गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ । त्यो राजनीति हो ।”
 
प्रधानमन्त्री ओलीले देश, जनता र विकासको आवश्यकताअनुसार संसद्को अंक गणित बनाइनुपर्नेमा जोड दिए । उनले यदि संसदीय अंक गणितले देश, जनता र विकासको आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्ने जिकिर गरे । 
 
“संसद्लाई देशको आवश्यकताअनुसार अंकगणितीय बनावटमा लैजानुपर्दछ । संसदीय अंक गणितलाई भरसक मिलाउने प्रयास गर्नुपर्दछ” उनले भने, “यदि व्यवस्थापन भएनन् भने ताजा जनादेशमा जानुपर्दछ ।”
 
उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा हुनुपर्ने बताए । प्रधानमन्त्रीले देशको आवश्यकतासँग अंक गणित मेल नखाएपछि ताजा जनादेशमा जानका लागि आफूले संसद् विघटन गरेको प्रष्टीकरण दिए । 
 
“राष्ट्रिय आवश्यकतासँग अंक गणितले तादात्मयता राखेन, हामीले तादात्मयता राख्न कोसिस ग¥यौँ, भएन । तब ताजा जनादेशमा जानु पथ्र्यो”, उनले भने, “मेरो विचारमा फेरि पनि ढिलोचाँडो ताजा जनादेशबाट अहिलेको अंक गणितमा हेरफेर नगरी, अनुकूल अंक गणितबिना देश अगाडि जानै सक्दैन । त्यसकारण फेरि पनि हामी ताजा जनादेशमा जानुपर्ने हुन्छ । देशको विकास र राष्ट्रिय आकांक्षालाई परिपूर्ति गर्ने खालको अंक गणित निर्माण गर्नुपर्दछ ।”
 
प्रधानमन्त्रीले विकास निर्माणका कामलाई अवरोध नगरी निरन्तर चालू राखे मात्र चाँडो विकास हुने बताए । आयोजनामा कुनै आर्थिक अनियमितता भए छानविन र काम पनि सँगसँगै लैजानुपर्ने उनको भनाइ थियो । “दोषी पाइए कारबाही गर्नुपर्दछ तर विकास निर्माणमा अवरोध भयो भने त्यसले बहुआयामिक क्षति पु¥याउँछ,” उनले भने । उनले विकास निर्माण सरकारको मात्र चाहना नभई सबैको सरोकारको विषय भएकाले कुनै विलम्ब नगरी सम्पन्न गर्नुपर्नेमा जोड दिए ।