मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह


काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गरेका छन् । 
 
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आज भएको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्नसक्ने कार्यक्रम र सोहीअनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन् ।  
 
खर्च हुन नसक्ने भएकाले ‘सरेन्डर’ गर्नुपर्ने अवस्था पनि रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षीय योजनामा पनि जति खर्च गर्ने हो, त्यहीअनुसार बजेट राख्न आग्रह गरेका हुन् । सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको बताउँदै उनले बजेट कार्यान्वयन गर्नसक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताए । 
 
प्राथमिकताका आधारमा कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता औँल्याए । उनले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गरे । 
 
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरे । 
 
आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमभन्दा सङ्घीयताको मर्म र भावनाअनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनुपर्ने बताए । 
 
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालय र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि सङ्कलन गरेको छ । रासस