मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमाले नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन

एमाले नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन


काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी सदस्यताबाट निलम्बन गरेका हुन् । 
 
वरिष्ठ नेता नेपाल र रावललाई सच्चिनका लागि समय दिइएको र आफ्ना क्रियाकलापमा सुधार गरेर पार्टीको पक्षमा लाग्न आग्रह गरिएको छ । 
 
अध्यक्ष ओलीले नेता नेपाललाई सम्बोधन गर्दै लेखेका छन्, “तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुरा उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।”  
 
पार्टी विरोधी, फाटोवादी र गुटगत क्रियाकलाप नेकपा (एमाले) कै नाममा गरिएको र त्यसलाई आगामी दिनमा निरन्तरता दिईरहनेतर्फ अग्रसरता देखिएको, पार्टीका लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको निलम्बन पत्रमा उल्लेख छ । 
 
“पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारबाही गर्नुभन्दा हाललाई दशौँ महाविधेशन आयोजक कमिटी सदस्य र पार्टी सदस्यबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको” स्पष्ट पारिएको छ । 
 
यस्तै, नेता रावललाई स्पष्टीकरणमा सोधिएअनुसार ‘आफ्नो भूलत्रुटिको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्टरुपमा देखियो’ भन्ने निलम्बन पत्रमा उल्लेख छ । 
 
यस्तै ‘आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पु¥याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्टरुपमा थप पुष्टि भएको यही चैत ८ गते पेश गरिएको स्पष्टीकरणको जवाफमा’ देखिएको उल्लेख छ । 
 
केही दिनअघि बसेको एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीभित्र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको थियो । रासस