मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ, ३० वटा मोटरसाकल बरामद

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ, ३० वटा मोटरसाकल बरामद


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरीका घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाएको छ ।
 
महाशाखाले पीडित सहायता इकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमानसिं कुँबरको हराएको बा९२प ९१३३ नम्बरको निलो बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षीय विमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाइकलसहित पक्राउ गरेको हो । उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा९६प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा निजलाई पक्राउ गरिएको हो ।
 
महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरी ३० वटा मोटरसाइकल खोजतलास एव बरामद गर्न सफल भएको छ ।  
 
उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सोमबार सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका हुन् । 
 
कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँइदै आएको बताए । उनले यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेकाले सो टोलीले नियमितरूपमा खबर संकलन गर्ने तथा विशेष अपरेसनमार्फत मोटरसाइकल बरामद गर्ने र चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गर्ने गरेको बताए । 
 
महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी,  माछापोखरी, गोकर्णेश्‍वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका विभिन्न स्थानहरुबाट मोटरसाइकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए ।
 
ट्राफिक महाशाखाले विशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्ने, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेको र अन्य अनुसन्धानपश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महाशाखाले जनाएको छ ।
 
यस आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरुमार्फत मुद्दा चलाएको महाशाखाले जनाएको छ ।
 

शेयर गर्नुहोस:

0
Shares