मकवानपुर । नेपालमा पहिलोपटक ६० वर्ष पूरा भई सक्रिय पत्रकारिताबाट विश्राम लिएका ज्येष्ठ पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ मकवानपुरले मासिकरुपमा पेन्सन वितरण सुरु गरेको छ । सोमबार हेटौँडा उपमहानगर मेयर हरिबहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्मालाई पेन्सनबापत रकम हस्तान्तरण गरेका हुन् ।
झण्डै चार दशक पत्रकारिता गरेर निवृत्त जीवन बिताइरहेका शर्मालाई चैत महिनाको चार हजार रुपैयाँ पेन्सन वितरण गरिएको हो । २० वर्ष पत्रकारितालाई मुख्य पेसा बनाएर ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजारका दरले पेन्सन सुरु गरिएको हो । पेन्सन कोषमा १० लाख रुपैयाँ हेटौँडा उपमहानगरपालिकाले सहयोग गरेको र आगामी दिनमा पनि सहयोगलाई जारी राखिने मेयर महतले बताए ।
पत्रकार महासंघ मकवानपुरले वाणिज्य बैंकमा खोलिएको खातामा दस लाख रुपैयाँ संकलन गरेको छ । त्यसबाट प्राप्त ब्याजबाट पेन्सन वितरण सुरु गरिएको हो । पत्रकार महासंघका सबै जिल्ला, प्रदेश र केन्द्रमध्ये पहिलोपटक महासंघ मकवानपुरले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण सुरु गरेको महासंघ जिल्ला अध्यक्ष हरि हुमागाईंले बताए । पेन्सनसम्बन्धी कार्यविधि महासंघको मंसिर २६ गतेको साधारण सभाले पारित गरेको थियो । महासंघ मकवानपुरमा आबद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकासका लागि पेन्सन सुरु गरिएको उनको भनाइ छ ।
पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्टले नेपालमा पहिलोपटक मकवानपुरले राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंसा गरे । ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछि कोषबाट खर्च हुने गरी मासिकरुपमा चार हजार रुपैयाँ प्रदान गरिने र कोषमा रकम वृद्धि भएसँगै पेन्सन रकम पनि वृद्धि गर्ने तयारी छ । तर, पेन्सन लिने ज्येष्ठ पत्रकारको संख्या वृद्धि भए पेन्सन रकम पनि घटाउने गरी कार्यविधि पास गरिएको छ ।
राज्यबाट उपलब्ध हुने सामाजिक सुरक्षाभत्ता वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट कुनै संघसंस्था, गैरसरकारी संस्थाबाट सेवासुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईंले बताए । मासिक पेन्सन प्राप्त ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षाभत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरे वा मृत्यु भएमा मासिक लगतकट्टा गर्ने प्रयोजनका लागि सोको जानकारी एकाघरका सदस्यले महासंघ मकवानपुरलाई दिनुपर्ने नियम छ ।
मासिक पेन्सनवृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको उजुरी वा महासंघमा जानकारी आए लगतकट्टा गरिने महासंघ मकवानपुर सचिव गणेशदर्पण अधिकारीले बताए । पेन्सन प्राप्त गर्न पत्रकार महासंघ मकवानपुरको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर बीस वर्ष पत्रकारितालाई मुख्य पेशा बनाएर सञ्चारक्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै सरकारी संस्था, गैरसरकारी र कम्पनीमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्षपछि सक्रिय पत्रकारिताबाट विश्राम लिएको हुनुपर्ने उनले बताए ।
दुर्घटनामा मृत्यु भएका पत्रकारलाई ५० हजार आर्थिक सहायता दिने कार्यविधिसमेत पारित भएको थियो । दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई ३० हजार र क्यान्सर तथा मिर्गौला रोगबाट पीडित पत्रकारलाई ७५ हजारसम्म सहयोग गर्ने सरकारी योजनासहित सुत्केरी पत्रकारलाई प्रोत्साहनस्वरुप ३० हजारका दरले चार वटा फेलोसिप दिने योजना पनि प्रदेश सरकारको थियो ।








प्रतिक्रिया