मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा

प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा


चितवन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् । 
 
नेपाली कांग्रेस तरुण विभागले शनिबार रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताएका हुन् । उनले भने,  “प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ । टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन ।” 
 
सभापति देउवाले अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको छ भन्दै माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताए । उनले भने, “मधेसवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन् । त्यो हेर्नुपर्छ ।”
 
सभापति देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए । आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । सभापति देउवाले स्थानीय तहदेखि संघीय तहसम्म निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै जनताको घरदैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “जनता मालिक हुन् । नोकर होइनन् । भाषण गरेर मत दिँदैनन् । जनताको सुख दुःखमा साथ दिनुस् । निर्वाचन जितिन्छ ।” कांग्रेस भित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उनको भनाइ छ । 
कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस सर्तसहित सरकारमा नजाने बताए । उनले भने, “कांग्रेस सरकारमा जान्छ तर हात खुट्टा बाँधेर सरकारमा जाँदैन ।” विना सर्त लोकतान्त्रिक विकल्पमा दल आउने भए मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए । उनले भने, “कांग्रेसले सेवा सर्त पूरा गरेर सरकारको नेतृत्वमा जाँदैन ।” अहिलेको समयमा कांग्रेस आफैँ जुटेर बलियो बन्नुपर्ने उनको भनाइ छ । 
 
कांग्रेसका केन्द्रीय सदस्य एनपी साउत, शंकर भण्डारी र देवेन्द्र कँडेलले कांग्रेसलाई जनताले दिएको जिम्मेवारी पूरा गर्दैअघि बढ्नुपर्ने बताए । अहिले देश संकटमा जान लागेको भन्दै उनहरुले देशलाई सही बाटोमा हिँडाउने कर्तव्य पनि कांग्रेसको रहेको बताए । राष्ट्रियता, अखण्डता, प्रजातन्त्रलाई आघात नहुने गरी लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्ने उनीहरुले जोड दिए । 
 
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला संघका केन्द्रीय सदस्य उमा रेग्मी, नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नयनसिंह महर, तरुणदल वाग्मती प्रदेशका अध्यक्ष पद्मनारायण तिमिल्सिना, तरुण युवा परिचालन समितिका हेमन्त पाख्रिनलगायत मुलुकको विद्यमान राजनीति र कांग्रेसको दायित्वका विषयमा बोलेका थिए । सो अवसरमा शहीद परिवारलाई सम्मान गरिएको थियो । रासस