मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रहेनन् कांग्रेसका नेता अशोक कोइराला, देउवाद्वारा दुःख व्यक्त

रहेनन् कांग्रेसका नेता अशोक कोइराला, देउवाद्वारा दुःख व्यक्त


मोरङ । नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए ।
 
कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए । 
 
पचहत्तर वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको दिउँसो १ बजे शवयात्रा निकालिएको थियो भने कांग्रेसको पार्टी कार्यालय पुगेर एक घन्टा श्रद्धाञ्जली व्यक्त गरिउको थियो । उनको विराटनगरको हाटखोलास्थित विश्रान्तघाटमा अन्त्येष्टि गरिएको छ । 
 
उनको अन्त्येष्टिमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा डीला सङ्ग्रौला, अमृत अर्याल सहभागी रहेका थिए । 
 
देउवाद्वारा दुःख व्यक्त
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला कार्यसमिति मोरङका पूर्वसभापति, संविधानसभा सदस्य एवं विराटनगर नगरपालिकाका पूर्वप्रमुख अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  
 
नेता कोइरालाको आज विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा ७७ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत कोइरालाको निधनको खबरले आफू निकै मर्माहत भएको उल्लेख गर्दै उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका सधैँ प्रशंसनीय भएको बताएका छन् ।  
 
सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 
 
कोइरालाको निधनबाट कांग्रेसले एक असल र निष्ठावान् अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको उल्लेख गर्दै कोइरालाले पु¥याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने जनाएको छ । 
 
कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदा सात वर्ष जेल जीवन बिताएका थिए । स्व कोइराला कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाका भाइ हुन् । 
 
स्व अशोक कोइरालाले कांग्रेसका विभिन्न तहमा रहेर सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।