मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

माओवादी संसदीय दलको नेतामा दाहाल चयन

माओवादी संसदीय दलको नेतामा दाहाल चयन


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । 
 
संसदीय दलको मंगलबारको बैठकले नेता देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको नेता वर्षमान पुनले राससलाई जानकारी दिए । दलको उपनेता र सचेतक भने चयन गर्न बाँकी छ । उनका अनुसार राष्ट्रियसभा संसदीय दलको नेतामा पुनः दिनानाथ शर्मालाई नै चयन गरेको छ । 
 
बैठकले प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका दुई गरी छ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । हाल नेकपा (एमाले) मा रहेका उनीहरूसहितका २२ नेतालाई यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकलेसमेत स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो । 
 
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई बदर गरी माओवादी केन्द्र र नेकपा (एमाले) पार्टी नै कायम रहेको फैसला सुनाएपछि दुवै दल पदाधिकारी चयनमा लागेको छ । 
 
बैठकले गत फागुन २३ गते सर्वोच्चले गरेको फैसला बेठिक रहे पनि कार्यान्वयन गर्ने निर्णय पनि गरेको नेता पुनले जानकारी दिए । 
 
त्यसपछि माओवादी केन्द्रको संसदीय दलको यो पहिलो बैठक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक कदम चालेको अदालतले फैसला गरिसकेकाले नैतिकरुपमा राजीनामा दिनुपर्ने दलको निष्कर्ष रहेकोसमेत उनले जानकारी दिए । 
 
बैठकको सुरुआतमा समसामयिक राजनीतिक विषयमा अध्यक्ष दाहालले संक्षिप्तरुपमा जानकारी गराएका थिए । बैठकमा उनले जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना रहेको जानकारी गराएको नेता पुनले बताए । 
 
बैठकले दलको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि कार्यदलसमेत बनाएको जनाइएको छ । रासस