नेपाल

माओवादी केन्द्र केन्द्रीय कमिटी बैठकमा सरकार गठनबारे छलफल

माओवादी केन्द्र केन्द्रीय कमिटी बैठकमा सरकार गठनबारे छलफल


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।  
 
सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा (एमाले) र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक उक्त दलको केन्द्रीय कमिटी बैठक बसेको हो । 
 
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, दलको अवस्था र आगामी दिनमा खेल्ने रणनीतिका बारेमा छलफल भइरहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराइरहेका छन् । 
 
बैठकमा सरकार गठन र त्यसका लागि दलबीच भइरहेको वार्ता प्रक्रियाका विषयमा छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए । 
 
उनका अनुसार दलको नाम तथा कम्युनिस्ट पार्टीबीचको एकताको विषयमा समेत बैठकमा छलफल भइरहेको छ । 
 
यसअघि शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको तथा एमाले पार्टी कमिटीमा रहेका नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।
 

शेयर गर्नुहोस:

945
Shares