मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक स्थायित्वका लागि निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्छ : अध्यक्ष थापा

राजनीतिक स्थायित्वका लागि निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्छ : अध्यक्ष थापा


मकवानपुर । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सङ्घीय सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने आवश्यकता औल्याउका छन् ।  
 
शनिबार आयोजित राप्रपा हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलामा उनले मुलुकमा अहिले नयाँ सोच र चिन्तनका साथ राजनीतिक स्थायित्वका लागि सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने बताएका हुन् ।  
 
अध्यक्ष थापाले मुलुकमा सुशासन स्थापना र आर्थिक समृद्धि ल्याउनका लागि नेपाली जनताले नेकपालाई दुई तिहाइको बहुमत दिएको उल्लेख गर्दै सो पार्टीका आन्तरिक झगडाले उग्र रुप लिँदा अहिले संसदीय प्रजातन्त्रमाथि नै सङ्कट आइपरेको आरोप लगाए । 
 
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि मुलुकमा आर्थिक समृद्धि ल्याउनेतर्फ केन्द्रित हुनुका सट्टा सरकार परिवर्तन गर्ने भूमिकामा तल्लिन हुँदा देशमा अराजकता र हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सनातन हिन्दूधर्मको संरक्षणका लागि राप्रपा अग्रसर रहेको बताए । 
 
राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारीले प्रजातन्त्रको मूल्य–मान्यतालाई राजनीतिक दलले आत्मसात गर्न नसक्दा अहिले मुलुक सङ्कटको धरापमा फसेको छ भने । 
 
पार्टीका जिल्ला अध्यक्ष रामहरि न्यौपाने, जिल्ला महिला प्रजातान्त्रिक सङ्गठनका अध्यक्ष इन्दिरा न्यौपाने र राप्रपा हेटौँडा उपमहानगरपालिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपाले देशमा प्रजातान्त्रिक संस्कार र आर्दशलाई अवलम्बन गरेर पार्टीको सङ्गठनलाई दरिलो बनाउन जनताको घरदैलोमा पुग्नुपर्ने बताए ।
 
आजै साँझसम्ममा नगर कार्यसमितिका लागि निर्वाचन हुने पार्टीका नगरअध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।