मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण छैन : डब्लुएचओ

अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण छैन : डब्लुएचओ


जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध लगाइँदै आएको अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।  
 
कोरोना भाइरसविरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शंका गर्नु अनावश्यक भएको संगठनले शुक्रबार स्पष्ट पारेको हो । 
 
रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेका हुन् । डब्लुएचओको खोप सुझाव समितिले हालै पनि अस्ट्राजेनिका खोप उपयोगी नै रहेको, कुनै हानिकारक नरहेको र कुनै खतरा नदेखिएकाले निशंकोच लगाउन सुझाव दिएको थियो ।
 
डेनमार्क, नर्वे, आइसल्याण्ड, इटली, रोमानियालगायतमा देशमा अहिले अस्ट्राजेनिका खोप लगाउने अभियान स्थगित गरिएको छ । “अस्ट्राजेनिका खोप एकदमै राम्रो खोप हो, अरु कतिपय खोपभन्दा यो गुणस्तरीय छ”, डब्लुएचओका प्रवक्ता मार्गरेट हरिसले भने । 
 
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले खोपको प्रयोग र परिणामसम्बन्धी विवरणहरुको आफूहरुले अध्ययन गरिरहेको जानकारी दिए । आफूहरुको अध्ययनमा खोपकै कारणले कसैको मृत्यु भएको पुष्टि नभएको पनि उनले पत्रकारलाई स्पष्ट पारे ।
 
उनले खोपका बारेमा आफूहरुले अध्ययनलाई जारी गरेको तर खोप लगाउने अभियानलाई भने रोक्न आवश्यक नरहेकोमा जोड दिए । अरु स्वास्थ्य निकायले पनि अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।
 
स्वास्थ्यसम्बन्धी नियामक निकायले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन् तर सावधानीका लागि खोप अभियानमा ढिलाइ गरिएको युरोपेली मुलुकको भनाइ छ । अस्ट्रेलिया, मेक्सिको र फिलिपिन्सले भने खोप अभियान जारी राख्ने जनाएका छन् । क्यानडाले खोपका कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिएको भन्ने बारेमा ठोस प्रमाण नभेटिएको जनाएको छ । 
 
अमेरिकामा अहिले खोप अभियान तीव्ररुपमा अघि बढेको छ । वैज्ञानिकहरुले कोभिडलाई परास्त गर्न खोप एक मात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । 
 
थाइल्यान्डको निर्णयसँगै प्रधानमन्त्री प्रयुत चान–ओ–चा ले आफूले खोप लगाउने कार्य एकाएक रोकेका छन् । कोभिड–१९ खोप समितिका सल्लाहकार पियासाकोल साकोसतायाडोर्नले थाई नागरिकलाई खोप लगाउने कुरा सुरक्षित हुनुपर्ने बताउँदै खोप अभियान सञ्चालनमा हतार गर्न नहुने प्रतिक्रिया दिएका छन् ।
 
 
खोप अभियान राम्रोसँग सञ्चालन गर्न नसकेको युरोपले खोप अभियानलाई अझ बढावा दिन संघर्ष गर्नु परिरहेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकामाथि निरन्तर पर्याप्त आपूर्ति व्यवस्था मिलाउन दबाब दिइरहेको छ । युरोपको दबाब एवं खोपको प्रभावकारितामाथि आशंका फैलिएसँगै लन्डन स्टक एक्सचेन्जमा अस्ट्राजेनिकाको शेयरमूल्य २।५ प्रतिशतभन्दा बढीले घटेको छ । 
 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले केही मुलुकले कोभिड–१९ विरुद्धको खोप भण्डार गरेर समानुपातिक वितरणमा अवरोध गरिरहेको र केही मुलुकले खोपको राजनीति गरिरहेको आरोप लगाएका छन् । एएफपी  
 

शेयर गर्नुहोस:

0
Shares