मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समसामयिक राजनीतिक विषयमा कांग्रेस र जसपाबीच छलफल

समसामयिक राजनीतिक विषयमा कांग्रेस र जसपाबीच छलफल


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
 
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलमा समसामयिक राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणलगायत विषयमा छलफल भएको बताइको छ । भेटमा जसपाका नेताहरुले आफ्ना कार्यसूचीबारेमा कांग्रेसलाई जानकारी गराएका थिए । 
 
जसपाका अध्यक्ष महन्थ ठाकुरले अहिले मिलेर जाने स्थिति रहेको र आफूहरुले आफ्ना पार्टीका धारणा राखेको जानकारी गराए । आफ्नो पार्टीका साथीहरु जेलमा रहेको र उनीहरु छुट्नुपर्ने, मुद्दा फिर्ता हुनुपर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्नेलगायत विषयमा कुरा राखेको उनले बताए । बैठकमा कांग्रेस नेतृत्वले सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । 
 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा वर्तमान राष्ट्रिय राजनीतिलाई मिलेर निकास दिनुपर्ने र त्यसका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा एक ठाउँमा उभिने परिस्थिति निर्माण हुनुपर्ने धारणा आएको जानकारी दिए । 
 
बैठकमा अहिलेको सन्दर्भमा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने मत प्रकट भए पनि ठोस रुपमा कुनै निर्णयमा पुगिनसकेको बताउँदै प्रवक्ता शर्माले प्रतिनिधिसभा पुनः स्थापनापछिको राष्ट्रिय राजनीतिलाई निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने विषयमा छलफल भएको बताए । 
 
जसपा नेतृत्वसँगको भेटवार्ता अघि आजै कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसेको थियो । सभापति देउवा निवासमै भएको बैठकमा खुला रुपमा संवाद गरी निष्कर्षमा पुगेर राष्ट्रिय राजनीतिलाई कांग्रेसको अग्रसरतामा लिएर जानुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । 
 
गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वोच्चले यही फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गठन अमान्य हुने फैसला गरेपछि दलहरुबीच राष्ट्रिय राजनीतिक विषयमा द्विपक्षीय एवं बहुपक्षीय रुपमा छलफल हुन थालेको छ । रासस

शेयर गर्नुहोस:

0
Shares