मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदीका नाम सिफारिस

सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदीका नाम सिफारिस


काठमाडौँ । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिस गरेको छ । 
 
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको हो । 
 
बैठकले उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीका नाम सिफारिस गरिएको छ । 
 
नायब महान्यायाधिवक्ता पौडेललाई उच्च अदालत पाटन र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजभण्डारीलाई उच्च अदालत पाटनबाट उच्च अदालत पोखराका न्यायाधीशमा सिफारिस गरिएको हो । 
 
न्याय सेवा राजपत्र प्रथम श्रेणीबाट रामेश्वर रेग्मी र ममता खनाललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरिएको छ । बैठकले अधिवक्तातर्फबाट रसुवाका फुर्पा तामाङ, सिरहाकी श्रीधराकुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनमसिंह चन्द, काभ्रेपलाञ्चोकका सागर विष्ट, सिरहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ । 
 
त्यस्तै जिल्ला न्यायाधीशमा जगत्नारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मेदिनीप्रसाद पौडेलका नाम सिफारिस भएको छ । रासस