मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस र जसपासँग छलफल गर्ने माओवादी केन्द्रको निर्णय

कांग्रेस र जसपासँग छलफल गर्ने माओवादी केन्द्रको निर्णय


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकार र संसद्लाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलसहित संसदमा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्ने भएको छ । 
 
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटीको बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको हो । 
 
बैठकले नेकपा (एमाले) सँग पनि वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “मुख्यतः प्रमुख प्रतिपक्षी र जनता समाजवादी पार्टीसँग संसद् सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल गर्ने निर्णय भएको छ”, उनले भने । 
 
बैठकले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न यही फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र आगामी चैत १ गते कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने सन्दर्भमा कुनै निष्कर्षमा नपुगिएको प्रवक्ता श्रेष्ठले बताए । ओली माओवादी केन्द्रका समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।  
 
सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा पूर्वअवस्थामा ब्यूँतिएको फैसला गरेको थियो । 
 
सोही फैसलाका आधारमा मंगलबार माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसेको हो । बैठकमा पूर्वमाओवादी स्थायी कमिटी सदस्य रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्टचाहिँ सहभागी भएनन् । 

शेयर गर्नुहोस:

0
Shares