नवलपुर । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी शुक्रबार बिहान सार्वजनिक भएका हुन् ।
विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा रहेका थिए । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् । सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरे ।
जिल्लाको पहाडी क्षेत्रबाट शुक्रबार बिहान ३ः०० बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आइपुगेको जनाइएको छ । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ प्रस्थान गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रम सहभागी हुनेक्रममा उनी नवलपुरको दलदलेबाट काठमाडौँ प्रस्थान गरेका हुन् ।








प्रतिक्रिया