मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना

कोरोना महामारी नियन्त्रणमा नआएपछि टोकियोमा फेरि संकटकालको अवधि थपियो

कोरोना महामारी नियन्त्रणमा नआएपछि टोकियोमा फेरि संकटकालको अवधि थपियो


टोकियो । जापानको राजधानी टोकियो क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योसिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका छन् ।  
 
कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उनको भनाइ छ । संकटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए ।  
 
राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि संकटकाल लम्बिने उनले बताए । कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उनले संकटकाल लम्ब्याउने निर्णय गरेका हुन् ।  
 
प्रधानमन्त्री सुगाले संकटकालको म्याद अहिले दोस्रो पटक थप गरेका हुन् । उनले गत जनवरीमा संकटकालको घोषणा गरेका हुन् । उनले कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचेक्रयाइँ नगर्न पनि सबैलाई आह्वान गरेका छन् । 
 
स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनुपर्नेमा जोड दिँदै आएका थिए ।  
 
संकटकाल लागु गरिए पनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले जनाएका छन् । बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भीडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । 
 
जापानको राजधानी टोकियोमा मात्रै शुक्रबार पनि थप ३०१ जना सङ्क्रमित भएका छन् । योसँगै टोकियोमा मात्रै कुल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जनाएका छन् ।
 
पछिल्लो २४ घन्टामा देशभरी एक हजार १४८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या चार लाख ३७ हजार ८६१ पुगेको छ । कोरोनाभाइरसका कारण जापानमा अहिलेसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ । तीमध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । सिन्ह्वा
 

शेयर गर्नुहोस:

54
Shares