मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सांसद् आचार्यद्वारा भूकम्पले भत्किएको विद्यालय भवन निर्माणको उद्घाटन

सांसद् आचार्यद्वारा भूकम्पले भत्किएको विद्यालय भवन निर्माणको उद्घाटन


रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका ३ पाच्र्याङस्थित गौतमबुद्ध माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको छ । २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले भवन भत्किएपछि टहरामा सञ्चालन हुँदै आएको थियो । 
 
विद्यालय जापान सरकार र शान्ति भोलिन्टियर एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोग एवं ग्रामीण विकास समाज नेपालको समन्वयमा विद्यालयको १२ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो ।
 
नवनिर्मित भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गरेका छन् । विद्यालय भवन उद्घाटन गर्दै सांसद् आचार्यले अब ग्रामीण क्षेत्रको विद्यालयहरुलाई क्याम्पस तहमा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने बताए । 
 
जनप्रतिनिधिको हैसियतले शिक्षा क्षेत्र मात्र नभएर सडकको बिस्तार, खानेपानी पर्यटन प्रवद्र्धन, कृषि र रोजगारीको क्षेत्रमा समेत आफूले काम गरिरहेको उनले बताए ।
२०७२ सालको महाभूकम्पपछि विद्यालय टहरामा पठनपाठन हुँदै आएको थियो । अहिले भूकम्प प्रतिरोधी पक्की भवनमा पठनपाठन गर्न पाउँदा अत्यन्तै खुसी लागेको विद्यालयका प्रधानाध्यापक सुभद्र लामाले बताए ।
 
कुल ४ करोड २२ लाख रुपैयाँको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको ग्रामीण विकास समाजका अध्यक्ष पदम उप्रेतीले बताए । 
 
भवन उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम तामाङ, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्बो घले, शान्ति भोलेन्टियर एसोसिएसन नेपालका निर्देशक ताकाफुमी मियाकेलगायतकोे उपस्थिति थियो ।