मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसदमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : निधि

संसदमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : निधि


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन् ।  
 
कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा स्थानीय वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा आज उनले लोकतन्त्र, संविधान र जनताका पक्षमा कांग्रेसले संसदमा भूमिका खेल्ने बताए । 
 
“अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छ”, उनले भने । उनले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिए । 
 
कांग्रेस सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले शान्ति र अहिंसाबाट भएको परिवर्तन दिगो हुने धारणा राख्ने  निधि सादा जीवन उच्च विचारका व्यक्ति भएको बताए । कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने गरी काम गर्न र  आफ्नो सेवालाई देशव्यापी बनाउन अस्पताललाई सुझाव दिए ।
 
 पं दीनबन्धु पोखरेलले राजनीतिमा सेवाको भावनालाई जोड्ने निधि गान्धीवादी नेता भएको उल्लेख गरे । उक्त भवन निर्माणका लागि लगाइएको महायज्ञमा पण्डित पोखरेलले भागवत् पाठ गरेका थिए । 
 
पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, सांसद् जिपछिरिङ लामा र  उमेश श्रेष्ठ, गणेशमानसिंह स्मृति अस्पतालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, बिपी स्मृति अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसी, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाललगायतले महेन्द्रनारायणका नाममा स्थापित अस्पतालले मधेश र पहाडलाई जोड्ने काम गरेको बताए । 
 
नाफाभन्दा सेवालाई ध्यान दिएर स्थापित उक्त अस्पताल १०० श्ययाको छ । आफ्नो सेवालाई आगामी दिनमा सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य राखिएको अस्पतालका अध्यक्ष कृष्णबहादुर थापा मगरले जानकारी दिए । रासस