नेपाल

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । 
 
सो समूहको संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएको हो ।  
 
उपलब्ध सांसदहरुको बैठकमा अध्यक्षद्वयले जतिबेला जे पनि हुनसक्छ, त्यसैले उपत्यकामा रहेका सांसदहरुलाई अतिआवश्यकबाहेक जानकारी गराएर मात्र बाहिर जानुहोला भनेर निर्देशन दिएको नेत्री रामकुमारी झाँक्रीले बताइन् । 
 
बैठकमा उनीहरुले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउँदै संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई धन्यवादसमेत दिएका थिए । गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघट्न गर्ने निर्णय गरेको थियो । 
 
सो विषयका सम्बन्धमा परेको विभिन्न रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मङ्गलबार सरकारको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो । रासस

शेयर गर्नुहोस:

243
Shares