मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ : प्रधानसेनापति थापा

सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ : प्रधानसेनापति थापा


काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताएका छन् । 
 
हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु (८,६११ मिटर) को पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा उनले केटु हिमाल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको बताए । 
 
“यो अतुलनीय योगदानको जति प्रशंसा गरे पनि कमै हुन्छ”, उनले भने, “हिमपहिरो, हिमआँधी र कठिन भूगोलको चुनौतीको सामना गर्दै सफल आरोहण गरेकामा नेपाली सेनाको हार्दिक बधाई छ ।” 
 
प्रधानसेनापति थापाले केटु हिमाल आरोहणको अभूतपूर्व सफलताबाट नेपाली जनता गौरवान्वित भएको उल्लेख गर्दै उक्त कार्यबाट नेपाली सेना हर्षित भएको बताए । 
 
“आरोहण टोलीले अनुपम उदाहरण प्रस्तुत गरेको छ, सामूहिकरुपमा मिलेर गरे असम्भव केही पनि छैन भन्ने स्पष्ट भएको छ”, उनले भने । दैनिक कार्यशैली, सोच विचारका साथ गरेको आरोहण देशका लागि मार्ग निर्देशन भएको उनले उल्लेख गरे । 
 
प्रधानसेनापति थापाले राष्ट्रिय भावनासहित सबै एकजुट भएर एउटै लक्ष्यका साथ चढेकाले हिमाल आरोहणको कीर्तिमान सम्भव भएको बताए । योजना सही ढङ्गले कार्यान्वयन गरेकै कारण ठूलो सफलता प्राप्त भएको उल्लेख गर्दै उनले आरोहण टोलीको अनुभव नेपाली सेनाका लागि मात्र नभई सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत बनेको बताए । 
 
प्रधानसेनापति थापाले नेपालीले विदेशमा विभिन्न चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै त्यही अनुभवअनुसार आफ्नै देशमा काम गर्नसके देशले फड्को मार्ने तथा उन्नति प्रगति गर्न सम्भव हुने बताए । 
 
“विदेशको अनुभवले राष्ट्रप्रतिको कर्तव्य पालन गर्न मद्दत पुग्छ, विदेश जानु नराम्रो होइन, तर त्यहाँ के सिक्ने र के सिक्यौँ भन्ने कुरा महत्वपूर्ण हो”, उनले भने । प्रधानसेनापति थापाले हिमाल आरोहण सामान्य काम नभएको उल्लेख गर्दै नेपालीले चाहे गर्न नसक्ने कुनै पनि काम नभएको स्पष्ट पारे । 
 
नेपालीले विदेशमा बेला बखतमा आफ्नो अद्भूत क्षमता प्रदर्शन गर्दै आएको र आफ्नो देशमा आएर उक्त क्षमता के कति देखाउन सक्यौँ भन्ने कुरा अर्थपूर्ण हुने उनको भनाइ थियो । “गरे असम्भव के नै छ र, विश्वास भए असम्भव केही पनि छैन, सम्भव असम्भव हामी आफैँले तय गर्ने हो”, प्रधानसेनापति थापाले भने । 
 
सो अवसरमा केटु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई सहयोग गरेकामा उनले पाकिस्तान सरकार, जनता र नेपालस्थित पाकिस्तानी राजदूतावासलाई धन्यवाद दिए । दश आरोही सम्मिलित नेपाली आरोहण टोलीले गत माघ ३ गते केटु हिमालको सफल आरोहण गरेको हो । 
 
‘नेपाली आरोही भरिया मात्र होइनन्’
 
विश्वकै अग्लोमध्येको दोस्रो केटु हिमाल आरोहण दलका टोली नेता निर्मल पूर्जा पुनमगरले नेपाली आरोही भरिया मात्र नभएको बताएका छन् । सेनाको मुख्यालय जङ्गीअड्डामा सम्मान ग्रहण गर्दै उनले हिमाल आरोहण गर्दाको अनुभव सुनाएका थिए ।  
 
आफूले ३० वर्षको उमेरमा हिमाल आरोहण आरम्भ गरेको उल्लेख गर्दै पुनमगरले सामूहिक भावनाका कारण कठिन आरोहण सम्भव भएको बताए । आफूहरु तीन वटा समूहमा गए पनि अन्तिममा सामूहिकरुपमा योजना बनाएर केटु हिमाल आरोहण गरेको उहाँको भनाइ छ । ब्रिटिश गोर्खा सेनामा १६ वर्ष जागीर गरी छाडेर हिमाल आरोहणको यात्रा थालेको पुनमगरले सुनाए । 
 
नेपालीले सधैँभरि हिमाल आरोहीको भरिया बन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालीले चाहे गर्न नसक्ने कुनै पनि काम नभएको आफूहरुले प्रमाणित गरेर देखाएको बताए । “विदेशी आरोहीले नेपाली भरिया मात्र हुन भनेर होच्याउने गरेका छन्, त्यो हामीलाई सह्य छैन”, पुनमगरले भने । उनले विश्वकै अग्ला १४ हिमालको सफल आरोहण गरेर कीर्तिमानसमेत बनाएका छन् । रासस