मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपाको खुसीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

नेकपाको खुसीयाली सभा : अब मुलुक संविधानबाट चल्छ


काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह¥याउँदै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार राजधानीमा खुसीयाली जुलुस निकालेको छ । 
 
राजधानीको शान्ति वाटिकामा भेला भएका जनसमुदायले संसद् भङ्ग गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच्याएको भन्दै खुसीयाली साटासाट गरेका थिए । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो । 
 
सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए । 
 
शान्ति वाटिकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रममा गरेका थिए । जुलुसमा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसाल, जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो । जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो । 
 
सभालाई सम्बोधन गर्दै नेकपा नेत्री पम्फा भुसालले संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई न्यायालयले सच्याएको बताए । 
 
“अब मुलुक संविधान र संविधानबाट चल्छ, सर्वोच्चबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ”, उनले भने । विश्वकै उत्कृष्ट समाजवादी मोडल स्थापना गर्न अब आफूहरूको ध्यान केन्द्रित हुने उल्लेख गर्दै उनले जनताको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
नेत्री भुसालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशव्यापी संघर्ष गर्न साथ दिने सम्पूर्ण जनसमुदायप्रति पनि आभार व्यक्त गरे । नेकपाले संसद् पुनःस्थापनाको खुसीयालीमा देशभर जनसभाको आयोजना गरेको छ । रासस