कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागबण्डा र तमासाको राजनीति सुरु हुने दाबी गरेका छन् ।
बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहेको जिकिर गरे । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको आरोप थियो ।
“देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ”, उनले भने, “समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।” आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उहाँले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे ।
अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उहाँले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए । पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले जनाए ।
उनले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताए । उनले भने, “अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ । म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।”
प्रम ओलीले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताए । रासस
प्रतिक्रिया