मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ जनादेशमा देश अगाडि बढ्यो : गृहमन्त्री थापा

नयाँ जनादेशमा देश अगाडि बढ्यो : गृहमन्त्री थापा


विराटनगर । नेकपाका स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले देश नयाँ जनादेशको अभियानमा अगाडि बढेको बताएका छन् । नेकपा प्रदेश नं १ कमिटीद्वारा आयोजित जनसभामा उनले मुलुकभित्र तथा बाहिरबाट हुने अस्थिरता, षडयन्त्र, विकासविरोधी कार्यविरुद्ध एकजुट हुन र राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको रक्षाको लागि नयाँ निर्वाचनमा समावेश हुन आग्रह गरे । 
 
कोभिडका कारण देश विषम परिस्थितिमा रहेका बेला फूटवादी सोच आउनु असामान्य भएको उल्लेख गर्दै उनले मुलकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएकाले सोविरुद्ध शुद्धीकरण अभियानअन्तर्गत जनसभाको आयोजना गरिएको बताए ।
 
प्रधानमन्त्री ओलीले विकास र समृद्धि, राजनीतिक स्थायित्वका लागि नयाँ निर्वाचनको लागि संसद् विघटन गरेको दाबी गर्दै गृहमन्त्री थापाले भने, “नयाँ जनादेशका लागि जनतासमक्ष जानु लोकतान्त्रिक र अग्रगामी कदम हो । कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न मेची महाकाली अभियान सुरु गरिएको हो ।”
 
विगत तीन वर्षमा सरकारले राष्ट्रिय एकता र अखण्डता सुदृढीकरण गरेको चर्चा गर्दै उनले राष्ट्रिय राजनीतिबाट बाहिर रहेका राजनीतिक दललाई मुलधारमा ल्याएको उल्लेख गरे । उनले नेकपाको नेतृत्वलाई मुलुकको विकास र समृद्धिका लागि विजयी गराउन सबैलाई आग्रह गरे ।
 
जनसभामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पार्टीभित्रको फोहरी खेलबाट मुलुकबाट जोगाउन प्रधानमन्त्री ओलीको नयाँ जनादेशको निर्णय सही भएको बताए । उनले राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन कायम गर्न र विभिन्न वाधा व्यवधान पन्छाउन निर्वाचन अपरिहार्य भएको दाबी गरे ।
 
नेकपा स्थायी कमिटीका सदस्य एवं संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङ्गले आगामी निर्वाचनलाई जनताले अनुमोदन गरेको बताए । उनले तराई, मधेस, पहाड हिमालका जनता र विविध संस्कृतिका जनता सडकमा उर्लेर यसलाई अनुमोदन गरेको तर्क गरे ।
 
‘जनताको उपस्थितिले प्रधानमन्त्रीको निर्णय सही हो भन्ने फैसला आएको छ’ भन्दै उनले यही फागुन १२ देखि १५ गतेभित्र सर्वोच्च अदालतको फैसला आउने बताए ।
 
भेलामा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, संविधान सभाका सदस्य बालकृष्ण ढुङ्गेल, नेकपाका केन्द्रीय सदस्य भगवती चौधरी, रामलाल साह, विनोद ढकाल र नेकपा प्रदेश प्रमुख देवराज घिमिरेले मुलुकमा दिगो शान्ति, विकास र समृद्धि कायम गर्न ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णय सही भएको बताए । रासस