मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतन्त्रमा चुनाव अपरिहार्य : प्रधानमन्त्री ओली

लोकतन्त्रमा चुनाव अपरिहार्य : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा पटकपटक निर्वाचन हुने बताएका छन् । “केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दैछन्”, उनले भने, “लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।” 
 
एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उनले जनतामाझ जान कोही डराउन नहुने उल्लेख गरे । 
 
निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे । उनले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताए । उनले निर्वाचनको तयारी तीव्र गतिमा गर्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिए । “जनतालाई आभास हुने गरी निर्वाचनको तयारी गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने । 
 
निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे विभिन्न भ्रम फैलाउने गरिएको प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई ढुक्कका साथ आफ्नो मतदान गर्न आग्रह गरे । लोकतन्त्र सुदृढ गर्न निर्वाचन आवश्यक भएको उनको भनाइ थियो । इतिहासमा पटकपटक आपसमा लडाउने भिडाउने षड्यन्त्र भएको उल्लेख गर्दै उनले देशलाई एकतामा बाँध्नु जरुरी भएको स्पष्ट पारे । 
 
“मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ”, प्रधानमन्त्री ओलीले भने । राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकामा उनले आपत्ति प्रकट गरे । उनले विथोल्ने बिगार्ने तत्वदेखि सावधान हुन जरुरी रहेको उल्लेख गरे । 
 
ताजा जनादेशका लागि प्रतिनिधिसभा भङ्ग गरेको उल्लेख गर्दै उनले जनमत लिनका लागि कोही पनि डराउन नहुने बताए । बहुमतका नाममा पार्टी फुटाउने चक्रब्यूहको रचना गरिएकाले त्यसअघि नै चक्रब्यूह तोडिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको उनले उल्लेख गरे । 
 
विसं २००७ को परिवर्तन नै देशका लागि मुख्य जग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेलाबेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताए । 
 
“२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्त्व राख्छ, त्यसकै परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरु भएका हुन् ।” उनले भन्नुभयो, विसं २००७ अघि साहित्यकार र कविहरुले राणा शासन हटाउनमा अहम् भूमिका निर्वाह गरेको सो अवसरमा उनले स्मरण गरे।  रासस