मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री

सरकारले लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् । 
 
७१ औँ प्रजातन्त्र दिवसका अवसरमा उनले बृहत्तर राष्ट्रिय हित र लोकतन्त्रको पक्षमा एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले कुनै पनि अलमलमा नपरी विगतका बलिदानलाई सम्झेर अगाडि बढ्न अपिल गरे । 
 
“सानातिना मतभेदलाई छाडेर बृहत्तर हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढौँ”, राष्ट्रिय एकतामा जोड दिँदै उनले भने ।
 
संविधानको परिपालनामा सरकारको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै उहाँले सरकारबाट लोकतन्त्रमा कुनै खतरा नरहेको प्रष्ट पार्नुभयो । “सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन, मिच्न दिँदैन्, जनताको अभिमतभन्दा विपरित जान दिँदैन र जाँदैन”, लोकतन्त्रप्रति सरकारको निष्ठा प्रकट गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “भ्रष्टाचार गर्दैन र गर्न दिँदैन, सुशासन कायम गरेर छाड्छ, अपराधलाई नियन्त्रण गर्छ ।”
 
सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने र त्योभन्दा अगाडि नै दिगो विकासका शर्त पूरा गर्ने अभियानका साथ सरकार अगाडि बढेको उल्लेख गर्दै उनले अबको प्रयासलाई तीव्र पारिने बताए । 
 
संविधान जारी भएपछि जनताको अभिमतबाट गठित आफ्नो सरकारले जनताको पक्षमा अभूतपूर्व काम गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएको सुरुको वर्ष विकासको आधार वर्ष र अर्को वर्ष समृद्धि आरम्भको वर्षका रुपमा वितेको स्मरण गराए ।
 
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धिको मार्गमा अगाडि बढाउने, लोकतन्त्रको मूल्य र मान्यता स्थापित गराउने सन्दर्भमा असाधारण उपलब्धि हासिल गरिएको बताए । “बितेका सात दशकमा नेपालमात्र नभई विश्व नै अत्यन्त तीव्र गतिका साथ अगाडि बढिरहेको छ, विज्ञान र प्रविधि, आर्थिक उन्नति र विविध क्षेत्रमा हामीले असाधारण उन्नति गरेका छौँ”, उनले भने, “अझै पनि केही शान्ति, विकास र सामाजिक न्याय र समानताको पक्षमा देशभित्रका नागरिकको पक्षमा अझै पनि थुप्रै काम बाँकी छ ।”
 
जनताको संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई व्यवहारको माध्यमबाट अझ सुदृढ, जीवन्त र खदिँलो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा तथा आर्थिक समृद्धिका क्षेत्रमा प्राप्त उपब्धिलाई रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई साकार पार्न सुशासन र विकासको बाटोबाट अगाडि बढ्ने अथक प्रयास गरिरहेको बताए । 
 
लोकतन्त्रलाई बिनाव्यवधान र बिनाविकृति अगाडि बढाउन, लोकतन्त्र भित्रैबाट अस्वस्थता र अस्थिरताको प्रयास हुन नपाओस् भन्ने अभिप्रायले मुलुक फेरि नयाँ निर्वाचनतर्फ अग्रसर भएको उल्लेख गर्दै उनले निर्वाचनको तयारीका लागि सबै निकायलाई जिम्मेवारीपूर्वक आआफ्नो भूमिका निर्वाह गर्न निर्देशन दिए ।
 
 “कुनै पनि हिसाबले अलमल गर्ने, लोकतन्त्रलाई अलमलमा पार्ने भूमिका कहीँकतैबाट हुनु हुँदैन”, उनले भने, “निर्धारित समयमा निर्वाचन हुनेछ र निर्वाचन गरिनु पर्छ, देशलाई अस्थिरताबाट जोगाउने बाटो ताजा जनादेश नै हो ।” प्राप्त उपलब्धिको रक्षा गर्दै कार्यान्वयनमा जुटेर सुशासन र विकासको सपनालाई साकार पार्नु अहिलेको आवश्यकता भएको उनको तर्क थियो । 
 
समारोहमा नेपाली सेनाको हेलिकोप्टबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७’ अंकित व्यानर र पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको अगुवाईमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीले मार्चपास गरेका थिए । त्यस्तै कलाकारहरूले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । 
 
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो । रासस