मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीबाट अदालतमा लिखित जवाफ पेस

प्रधानमन्त्री ओलीबाट अदालतमा लिखित जवाफ पेस


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।  
 
अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । 
 
 ‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैैँ उपस्थित भएर उनले लिखित जवाफ पेस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  प्रधानमन्त्रीले लिखित जवाफ मात्र दिए पनि हुनेमा अदालतको सम्मान गर्दै आफैँ आएर पेस गरेको उनले बताए ।  
 
न्यायाधीश डा मनोज शर्माको एकल इजलासले जारी गरेको आदेशमा “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्नुहोला”, भनिएको थियो । 
 
वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर प्रधानमन्त्रीले न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । 
 
सोही प्रकृतिको आदेशानुसार चार  पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि लिखित जवाफ पेस गरिसकेका छन् ।