मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बहमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार : वरिष्ठ अधिवक्ता मैनाली

बहमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार : वरिष्ठ अधिवक्ता मैनाली


काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने अधिकार बहुमतको प्रधानमन्त्रीलाई रहेको एमीकस क्युरी वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले तर्क गरेका छन् ।
 
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट राय राख्दै बुधबार मैनालीले भने, ‘संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमतको प्रधानमन्त्रीलाई पनि छ ।’
 
कुनै पनि पार्टीले सरकार गठन गर्न मानेन भने त्यस्तो अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार रहेको पनि उनको तर्क थियो । सरकार बनाउन कुनै पार्टी तयार भएनन् भने त्यस्तो अवस्थामा सरकारमा रहेको प्रधानमन्त्रीले विघटन गर्ने अधिकार छ । ‘म प्रधानमन्त्री हुँदिन भन्ने गणेशमान सिंहजस्ता मान्छे पनि छन् नि नेपालमा’, उनले भने ।
 
संविधान लेखनका क्रममा त्रुटि रहेको मैनालीको भनाइ थियो । कुनै पनि दलले सरकार गठन गर्दैन भनेमा के गर्ने भन्ने व्यवस्था नलेखिएको बताए । त्यस्तै, प्रधानमन्त्रीले पार्टीभित्रको आन्तरिक विवादमा पनि संसद् विघटन गर्ने अधिकार राख्ने मैनालीको तर्क थियो । जब पार्टीभित्र जञ्जाल, समस्या उत्पन्न हुन्छ । ‘सरकारको काममा बाधा नआओस् भन्नका लागि संसद् विघटन गर्ने हो’, उनले भने ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको लिखित जवाफमा पनि पार्टीले असहयोग गरेको भन्ने कुरा उल्लेख गरेको भन्दै मैनालीले नेकपाभित्रको विवादले अहिलेको अवस्था आएको बताए । विगतमा पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र मनमोहन अधिकारीले पनि पार्टीभित्रको विवादका कारण संसद् विघटन गरेको उनले उदाहरण प्रस्तुत गरेका थिए ।