मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान


जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । 
 
कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ ।
 
अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रममार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।
 
डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्समार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् ।
 
भारत र दक्षिण कोरियाबाट अस्ट्राजेनिकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी छन् । यस खोपबाट सन् २०२१ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पर्याप्त हुनेछ ।
 
कोभाक्सका लागि सेरम इन्स्टिच्युटबाट अस्ट्राजेनिकाको २४ करोड, दक्षिण कोरियाबाट अस्ट्राजेनिकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ । यी खोपहरु दुई डोज लगाउनु पर्दछ ।
 
६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि अस्ट्राजेनिकाको खोप लगाउन मिल्ने डब्लुएचओले जनाएको छ । डब्लुएचओको विज्ञ सल्लाहकार समूहको बैठकले अस्ट्राजेनिकाको खोप ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि दिन सिफारिस गरेको छ । 
 
यसअघि पर्याप्त तथ्यांकको अभावमा खोपको प्रभावकारिता आँकलन गर्न कठिन भएको पनि डब्लुएचओले स्वीकार गरेको छ । (एएफपी)