मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस

विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकहरूमा पार्टीको विधान र नियमावलीअनुसार जनसम्पर्क समिति विस्तार गर्ने भएको छ । 
 
कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय केन्द्रीय विभागको आज बसेको बैठकले जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकमा जनसम्पर्क समिति विस्तार गर्दै लैजाने निर्णय गरेको हो । 
 
बैठकले म्याद सकिएका जनसम्पर्क समितिलाई यथाशीघ्र पार्टीको क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरी अधिवेशनको तयारी गर्नका लागि निर्देशनसमेत दिएको छ ।
 
पार्टीका केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईको अध्यक्षतामा भएको बैठकले संसद् विघटनको विरुद्धमा कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको देशव्यापी विरोधका कार्यक्रममा व्यापकरुपमा जनसहभागिता जुटाउने निर्णय गरेको छ । 
 
बैठकले कोभिड–१९ बाट प्रभावित भई देशभित्र र बाहिर मृत्यु भएका सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।  
 
बैठकले कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली नागरिकलाई राहत तथा उद्धारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको विभागका सचिव महेश थपलियाले जानकारी दिए । रासस