मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राज्यविरुद्धको अपराधमा नेत्री रामकुमारी झाँक्री पक्राउ

राज्यविरुद्धको अपराधमा नेत्री रामकुमारी झाँक्री पक्राउ


काठमाडौँ । प्रहरीले राज्यविरुद्धको अपराध गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।
 
महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनको आफ्नै निवास काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलबाट पक्राउ गरेको हो । यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध टिप्पणी गरेपछि उनको आलोचना हुँदै आएको थियो । सोही विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
 
राज्यविरुद्धको अपराधअन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।
 
उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । उक्त दफाको उपदफा (१) मा कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन नहुने, कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको दबाब दिन नहुने उल्लेख छ ।
 
उपदफा २ मा दफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा रु ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अखिल नेपाल महिला संघले झाँक्रीलाई कारबाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
 
पक्राउको विरोधमा उनका समर्थकले चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए । पक्राउ हुनुअघि झाँक्रीले आफूले कानुनको पालना गरेको जिकिर गरेकी थिइन् । रासस