काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली अल्पमतमा परिसकेकोले अब नेकपाको अध्यक्ष नरहेको दाबी गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
केपी ओलीले निर्वाचन आयोगमा गएर आफू पहिलो अध्यक्ष भएको भन्दै धम्क्याएको दाबी गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओली कहाँको पहिलो अध्यक्ष ? बालकोटको होला, ओली गुटको होला । उनी अहिले बिमाले भइसके ।’
अध्यक्ष नेपालले भने, ‘दस्तावेज हेरे हुन्छ, सर्कुलर हेरे हुन्छ । विधान हेरे हुन्छ । त्यसमा पनि शंका छ भने ४४१ जना केन्द्रीय सदस्यलाई बोलाएर टाउको गने पनि हुन्छ । ओलीको पक्षमा कति जना छन् ? सय जना ? हाम्रो पक्षमा कति उभिएका छन् ? तीन सय जना । तीन सय जनाको बहुमत हुन्छ कि सय जनाको ?’
नेपालले प्रधानमन्त्री ओलीले अब पशुपतिमा गएर बत्ती बाले पनि पाप नपखालिने बताए । ‘केपी ओली अहिले पशुपतिनाथ गएर मन्त्र जप्न थालेका छन् । तर उनलाई पशुपतिनाथले पनि माफी गर्दैनन्, संविधान मिच्ने र लोकतन्त्रको हत्या गर्नेलाई कसैले माफ दिन सक्दैन’, उनले भने ।








प्रतिक्रिया