काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै बुधबार काठमाडौँमा बृहत् प्रदर्शन सुरु गरेको छ ।
प्रचण्ड–नेपाल पक्षले सरकारविरुद्धको जारी तेस्रो चरणको आन्दोलनअन्तर्गत बिहान ११ बजेबाट काठमाडौँको पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट एकसाथ जुलुस निकाल्ने भएको हो ।
पुल्चोकबाट निस्कने जुलुसको कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल र त्रिपुरेश्वरबाट निस्कने जुलुसको अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु पुकार श्रेष्ठले नेतृत्व गरेका छन् ।
यसैगरी माइतीघरबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेलले, केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेतले र जमलबाट निस्कने जुलुसको नेतृत्व लीलामणि पाख्रेलले नेतृत्व गरेका छन् ।
प्रदर्शन सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो । ओली र प्रचण्ड(नेपाल छुट्टाछुट्टै समूह बनाएर कार्यक्रम गर्दै आएका छन् ।
बुधबारको प्रदर्शनमा सहभागी हुन प्रचण्ड नेपालले मंगलबार संयुक्तरूपमा भिडियो सन्देश जारी गर्दै अपिलसमेत गरेका थिए । उनीहरुले आजको प्रदर्शनमा दुई लाख मानिस सडकमा उतार्ने दाबीसमेत गरेका छन् ।








प्रतिक्रिया