मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भागरथी हत्याकाण्ड : पाँच दिनसम्म पनि पत्ता लागेन हत्यारा

भागरथी हत्याकाण्ड : पाँच दिनसम्म पनि पत्ता लागेन हत्यारा


काठमाडौँ । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न व्यक्तिको अझैसम्म पहिचान हुन सकेको छैन ।   
  
भट्टको बलात्कारपछि हत्या भएको पोस्ट मार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्ट मार्टम रिपोर्टबाट उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो ।
  
माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्ररुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।  
  
प्रहरीले घटनालाई गम्भीररुपमा लिएको बताए पनि घटना भएको पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन । घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।   
  
अनुसन्धान र अध्ययनका लागि हाम्रो माथिल्लो निकाय पनि परिचालन भएको छ उनले भने, “दोषीलाई पत्ता लगाउन हाम्रो सबै शक्ति लागिपरेको छ, छिट्टै पत्ता लाग्नेछ ।”
 
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ । 
 
प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसका साथै तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो । यस क्रममा किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकोले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ ।  
 
किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेको छ । आइतबारदेखि तीन दिनका लागि शैक्षिक हड्ताल गरिएको सङ्घर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए । 
 
सङ्घर्ष समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हड्ताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आम हड्ताल गर्ने घोषणा गरेको छ ।  यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए ।   
 
भागरथीले न्याय पाउनुपर्ने र दोषीलाई पत्ता लगाउन मागसहित जिल्लास्थित राजनीतिक दल पनि एक ठाउँमा उभिएका छन् । जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि ¥यालीसहित दोषीलाई यथाशीघ्र पक्राउको माग गर्दै नाराबाजीसमेत गरिएको छ ।  
  
आफन्तले अझै शव बुझ्न मानेका छैनन् । बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए ।