मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि


काठमाडौँ । बैतडीको दोगडाकेदार नगरपालिका ७ की १७ वर्षीया बालिका भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्ट मार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्ट मार्टम रिपोर्टबाट उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो ।
 
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पोस्ट मार्टम रिपोर्ट आज प्रहरीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदीका अनुसार भागरथीको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । घाँटी निमोठेको र अन्य केही भित्री चोटहरु पनि देखिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ । 
 
सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार साँझसम्म घर नफर्किएपछि खोजी गर्दै जाँदा बिहीबार बिहान मुख्य सडकको भित्री क्षेत्रमा क्षतविक्षत अवस्थामा मृत फेला परेकी थिइन् । पोस्ट मार्टम रिपोर्ट आउनुअघि प्रहरीले हत्या वा बलात्कारबारे यकिन गर्न सकेको थिएन । घटनाको अनुसन्धानमा प्रहरीका विभिन्न टोली खटिएका छन् ।
 
यसैबीच, सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले बैतडीमा बलात्कारपछि किशोरीको हत्या भएको भन्दै घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 
 
बैठक सुरु हुनासाथ समय लिएर प्रदेशसभा सदस्य लीलाधर भट्टले दोगडाकेदार गाउँपालिका चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै घटना भएको छ दिन पुग्दासम्म पनि प्रदेश सरकारले चासो नलिएकोमा दुःख व्यक्त गरे । उनले उक्त घटनाका हत्यारा पत्ता लगाइ कारबाही गर्न र प्रभावकारी शान्ति सुरक्षाको व्यवस्थापन गर्न माग गरे ।  
 
बैठकको विशेष समयमा नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले किशोरीको बलात्कारपछि भएको हत्या घटना समाजका चुनौतीसँगसँगै लाजमर्दो विषय बनेको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न र आमनागरिकको सुरक्षामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका थिए ।   
 
प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले किशोरीको हत्या घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र यस्ता जघन्य अपराध हुन नदिनका लागि शान्ति सुरक्षाको उचित व्यवस्थापन मिलाउन माग गरे ।  
 
जनता समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले किशोरीको बलात्कारपछि हत्या हुँदा पनि प्रदेश सरकारले चासो नदिनु दुःखद भएको बताए ।