मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म्यान्मारमा सेनाविरुद्ध दिनहुँ हजारौँको प्रदर्शन

म्यान्मारमा सेनाविरुद्ध दिनहुँ हजारौँको प्रदर्शन


याङ्गुन । म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।
 
प्रदर्शनकारीले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनाशर्त रिहाई गर्न माग गरेका छन् । म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनस्थित याङ्गुन विश्वविद्यालय नजिक २००० भन्दा बढी श्रम संगठन र विद्यार्थीहरुसमेत सहभागी भएर सेनाको कदमको विरोध गरेका थिए ।
 
नेतृ सुकी र राष्ट्रपति मिन्टसहित दर्जनौँ नेता तथा कार्यकर्तालाई सेनाले नजरबन्दमा राखेको छ । 
 
प्रदर्शनकारीलाई विश्वविद्यालयको मुलढोका बाहिर निस्कन नदिन दङ्गा प्रहरीले कडा पहरा दिएका थिए । पानीको फोहोरा फाल्ने दुई वटा ट्रकसमेत तैनाथ गरिएको थियो ।
 
आइतबार सेनाले इन्टरेनटमा करिब पूर्ण अवरोध गरेको थियो जसका कारण ट्विटर र इन्स्टाग्रामसहित फेसबुक बन्द भएका छन् । 
 
म्यानमारमा सेनाले निर्वाचित संसद्लाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ । दङ्गा प्रहरीहरूले याङ्गुनलगायतका सहरको मुख्य भागहरूमा चोक तथा सडकहरूमा धरपकड बढाएको छ ।  
 
“हामीसैन्य तानाशाहबाट देश र जनतालाई स्वतन्त्र पार्न र आगामी पुस्ताको अधिकारका निम्ति लड्न आएका छौँ ।” ¥यालीका एक महिला सहभागीले बताइन् । म्यान्मारमा अप्रजातान्त्रिक सोचलाई सदाका लागि अन्त्य गरी दीर्घकालीन शान्ति तथा सुव्यवस्था कायम गर्न सडकमा आएको एक प्रदर्शनकारीले बताए ।
 
म्यान्मारस्थित अमेरिकी दुतावासले सेनालाई सत्ता परित्याग गर्न र प्रजातान्त्रिक तरिकाबाट निर्वाचित सरकारलाई पुनर्वहाली गर्न तथा नजरबन्दमा रहेका नेता तथा कार्यकर्तालाई रिहा गर्न, दूरसंचार अवरोध हटाउन तथा हिंसाको प्रयोगलाई निरुत्साहन गर्न आग्रह गरेको छ । 
 
दुतावासले ट्वीट गर्दै म्यान्मारका जनताको प्रजातान्त्रिक ढंगबाट चुनिएको आफ्नो सरकारको पक्षमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको पक्षमा अमेरिका सदैव खडा हुने जनाएको छ ।
 
शुक्रबार अनलाइन बैठक गर्दै सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का सांसदहरुले आफूहरु जनताको प्रतिनिधि भएको भएकाले अन्तर्राष्ट्रिय समुदायलाई निर्वाचित संसद् र सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । 
 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले म्यान्मारका सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायलाई एकताबद्ध गराउन आफूहरुले हरसम्भव प्रयास गर्ने बताएका छन् । उनले म्यान्मारमा भएको सैनिक सत्ताविद्रोह फिर्ता गराउन उपयुक्त वातावरण तयार पार्ने पनि जनाएका छन् । एपी