मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँ उपत्यकालगायत ठाउँठाउँमा वर्षा र हिमपात

काठमाडौँ उपत्यकालगायत ठाउँठाउँमा वर्षा र हिमपात


काठमाडौँ । काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ भने उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ । पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत आज हिमपात भएको हो ।  
 
तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौँको चन्द्रागिरी फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातभर पनि ठाउँठाउँमा हिमपात र वर्षा हुनेछ । आइतबारबाट भने खुल्दै जाने मौसमविद् सजिना शाक्यले बताए । 
 
अहिले वाग्मती र प्रदेश नं १ मा सामान्य बदली छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली छ । वाग्मती र गण्डकीको केही क्षेत्रमा वर्षा पनि भइरहेको शाक्यले जानकारी दिए । अहिले सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बुका आसपास क्षेत्रमा पानी परिरहेको छ । त्यहाँका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । मुख्यगरी हिमाली क्षेत्रसँगै प्रदश १, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा हिमपात राती पनि जारी हुन्छ ।
 
अहिले मुलुकको पश्चिम क्षेत्रमा खुलेको र वाग्मती प्रदेशमा रातिबाटै खुल्दै जाने र बिहान मौसम सफा हुने जनाइएको छ । आइतबार सीमित पहाडी भू–भागमा आंशिक मात्रै बदली रहने अनुमान गरिएको छ । आगामी २४ घन्टामा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात तथा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका केही स्थानका साथै गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । रासस