काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्ने बताएका छन् ।
ललितपुरमा आज आयोजना गरिएको जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “एउटा पार्टी राम्रो हुँदै जान्छ वा नराम्रो हुँदै जान्छ । विकास गर्दै जान्छ वा ओरालो लाग्दै जान्छ भन्ने कुरा त्यो पार्टीले लिने विचार, राजनीतिक नीति र कार्यदिशामाथि भर पर्छ ।”
पूर्वप्रधानमन्त्री दाहालले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको भनाइ स्मरण गर्दै सही विचार भए पार्टी नभए पनि पाटी बनाउने प्रक्रिया अगाडि बढ्ने र जनताले साथ दिने भनाइ व्यक्त गरे ।
पार्टी एकताको केही समयपछि नै केही नेतामा व्यक्तिवाद देखिएको बताउँँदै उनले पार्टी एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजिएकाले समस्या भएको बताए ।
पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बित्तिकै केही नेताले पार्टी फुट्ने धम्की दिने गरेको स्मरण गर्दै उनले कम्युनिस्टविरोधी प्रवृत्तिविरुद्ध संघर्ष सुरु भएको धारणा राखे ।
व्यक्तिवाद र महत्त्वाकांक्षाका कारण जनताले संघर्ष गरेर ल्याएको कारण उपलब्धि धरापमा परेको र मुलुक अँध्यारो सुरुङमा जाने खतरा रहेकाले आफूहरु जनतामाझ आएको उनले बताए ।
अध्यक्ष दाहालले ७० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य आफूहरुसँग रहेकाले आफूहरु नै आधिकारिक नेकपा भएको र निर्वाचन आयोगमा पनि दाबी गरिएको जानकारी दिए ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसालले जनताको विश्वास जित्ने कुरा नै महत्त्वपूर्ण भएकाले आफूहरु जनतामा आएको बताइन् । रासस








प्रतिक्रिया