मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्ड–नेपाल समूहको बन्दले जनजीवन प्रभावित, ८० जना बन्दकर्ता पक्राउ

प्रचण्ड–नेपाल समूहको बन्दले जनजीवन प्रभावित, ८० जना बन्दकर्ता पक्राउ


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साबिकभन्दा न्यून रहेको छ । 
 
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् ।
 
प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ । बिहानै काठमाडौँको सामाखुसीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताए । 
 
गृहमन्त्रालयले पूर्ववत्रुपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाइसकेको छ ।  
 
मन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।
 
शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा संलग्न हुनेउपर कानूनी कारवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै उक्त पार्टीले त्यसको विरोधमा बन्द आह्वान गरेको हो । रासस