मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आयोगद्वारा निर्वाचनका लागि सात अर्ब रुपैयाँ निकासा गर्न माग

आयोगद्वारा निर्वाचनका लागि सात अर्ब रुपैयाँ निकासा गर्न माग


काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मंगलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
 
कोभिड–१९ महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतको निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुनेगरी अपनाउनुपर्ने स्वास्थ्य सतर्कतासमेतलाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
 
अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मंगलबार भएको छलफलसमेतका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताइएको छ । विगतका निर्वाचनमा प्रयोग भई हाल मौज्दात रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको तथा नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्ने गरी बजेटमा समावेश नगरिएको जानकारी दिएको छ ।
 
कोभिड–१९ सगँ सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनत्तम सुरक्षा व्यवस्थाका लागि रु ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । निर्वाचनको काममा आयोग, ७७ जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम सङ्ख्यामा रहने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
 
निर्वाचनसँग सम्बन्धित तालिम, अनलाइनका माध्यमबाट समेत गर्नेगरी व्यवस्थापन गरिएकाले आसन्न निर्वाचन थप मितव्ययी हुने आयोगको भनाइ छ । रासस