विचार / ब्लग

के साँच्चै नेपाल सतीले श्राप दिएको मुलुक हो त ?

प्रकाशित |
सफल राजनीतिज्ञ हुनका लागि साधुहरू सर्वाधिक अयोग्य देखिएका घटना सबै देशको इतिहासमा पाइन्छन् । नेता, मन्त्री शासक वा प्रशासक जे बने पनि सोझासाझा, इमानदार एवम् कर्तव्यनिष्ठ पात्रको क्षणिक अवसान भएको देखिन्छ । मुलुकमा राम्रो काम गर्नेको कदर नहुने हुँदा नेपाललाई सतीले सरापेको मुलुक भन्ने गरिन्छ । सती प्रथा एउटा सामाजिक कुप्रथा थियो । इतिहासको कालखण्डमा यसलाई राजनीतिज्ञहरूले आफ्नो स्वार्थपूर्तिका लागि उपयोग गरिने राजनीतिक हतियारका रूपमा समेत प्रयोग गरेका दृष्टान्त पाइन्छन् । हिन्दुस्तानबाट सुरु भएको सती प्रथा शासकवर्गबाट प्रारम्भ भएर तल्लो तहसम्म पुगेको थियो । लिच्छविकालमा सती प्रथा त थियो तर अनिवार्य थिएन । मध्यकालदेखि चाहिँ शासकवर्गमा यस प्रथालाई अनिवार्य गरियो । 
 
सत्रौँ शताब्दीमा (विसं १६२५–३०ताका) प्रताप मल्लको राज्यकालमा कान्तिपुरले भोट विजय गरी भएको सन्धि कान्तिपुरलाई र कालान्तरमा नेपाललाई नै निकै लाभदायक सिद्ध भएको थियो । उक्त सन्धिका कतिपय व्यवस्था १९५६ ईस्वीसम्म कायम थिए । यो सन्धि गर्न गराउन काजी भीम मल्लको ठूलो योगदान रहेको देखिन्छ । मुलुकलाई यति ठूलो उपलब्धि दिलाएर कान्तिपुर फर्केका भीम मल्लको कदर हुन सकेन । तत्कालीन षड्यन्त्रकारी राजनीतिको कारणबाट उल्टै उनलाई प्राणदण्डको सजाय दिइयो । यिनै भीम मल्लकी श्रीमतीले आफू सती जाँदा यो मुलुकमा राम्रो गर्नेको कहिल्यै भलो नहोस् भनेर श्राप दिइन् भन्ने जनश्रुति अद्यापि समाजमा प्रचलित छ । अतः यस लेखमा यसै प्रसङ्गमा नेपालको इतिहासको विभिन्न कालखण्डमा योग्य, इमानदार र राष्ट्रभक्त शासक एवम् प्रशासकहरूको कदर नभएको उल्टो उनीहरूले दण्डित हुनुपरेका केही ऐतिहासिक तथ्य उल्लेख गर्न खोजिएको छ । 
 
नेपालको प्रामाणिक इतिहास लिच्छवि कालको मध्यदेखि मात्र उपलब्ध छ । लिच्छवि कालका राजा उदयदेव गुप्तचरहरूको जालझेलमा परेर भोट पलायन हुनुपरेको थियो । तत्कालीन अभिलेखमा उदयदेवलाई प्रजाप्रेमी राजाका रूपमा चित्रण गरिएको छ । यिनै प्रजाप्रेमी राजाको पनि मुलुकमा कदर भएन । उनी भोटमा शरण लिन बाध्य भए । यसैगरी मध्यकालमा पनि तत्कालीन राजनीतिक षड्यन्त्रबाट थुप्रै योग्य पात्रहरू सजायको भागीदार भएका थिए ।
 
गोरखा राज्यको विजय अभियानलाई सार्थक रूपले अगाडि बढाउन कालु पाण्डेको योगदान थियो । उनको योग्यताकै कारण पृथ्वीनारायण शाहले नचाहेरै पनि उनलाई मूल काजी बनाउनुपरेको थियो । भविष्यको वास्ता नै नगरी तत्काल निर्णय गर्ने युवा राजा पृथ्वीनारायण शाहलाई उनले विसं १८०१ मा कीर्तिपुर आक्रमण गर्न उपयुक्त नभएको सुझाएका थिए । तर, राजाले ‘तँ लडाइँमा मारिन्या डराउने’ भन्ने आरोप लगाई कीर्तिपुर आक्रमण गरे । यस लडाइँमा गोर्खालीको ठूलो क्षति भयो । कालु पाण्डेले वीरगति प्राप्त गरे । पृथ्वीनारायण शाह पनि ‘राजालाई राजाले मात्र मार्नुपर्छ सिपाहीले राजालाई मार्न हुँदैन ।’ भन्ने तत्कालीन जनविश्वासबाट बँचेका थिए पृथ्वीनारायण शाहको अदूरदर्शी निर्णयका कारण एक योग्य सेनापतिको मृत्यु भयो । उनको अभाव गोर्खाली राजनीतिमा पछिसम्म परिरह्यो ।
 
पृथ्वीनारायण शाहको अवसानपछि नेपाल दरबारमा षड्यन्त्रकारी राजनीतिले प्रवेश ग¥यो । त्यसैको परिणाम स्वरूप योग्य भारदार सर्वजित रानालाई बहादुर शाहले आफ्नै भाउजूसित अनैतिक सम्बन्ध रहेको आरोप लगाई मृत्युदण्ड दिए । नेपालको विजय अभियान र भोटको युद्धमा बहादुरी देखाएका दामोदर पाण्डेले पनि रणबहादुरबाट मृत्युदण्डको पुरस्कार पाए । भीमसेन थापाले आफू शक्तिमा पुगेपछि गोरखाको विजय अभियानमा सार्थक भूमिका निर्वाह गरेका महारथीका सन्तानलाई समाप्त पारे । उनले आफ्ना विरोधीहरूलाई सखाप पार्ने नीति लिँदा उनी स्वयम् पनि सोही नीतिको सिकार हुन पुगे ।
 
माथवरसिंह थापा पनि नेपालका योग्य प्रधानमन्त्री मध्येकै एक थिए । राज परम्परा र मुलुकप्रति समर्पित उनको पनि राजा राजेन्द्रकी कान्छी रानी लक्ष्मीदेवीको छोरा रणेन्द्रलाइ राजा बनाउन उद्योग नगर्दा हत्या गरियो । षड्यन्त्रकारी राजनीतिकै कारण जंगबहादुरको उदय भयो । सक्षम योग्य भारदारहरूको शासनमा भूमिका नरहेको कारण अस्थिरता सृजना हुन गई जंगबहादुरको उदय भएको थियो । उनले जहानियाँ राणा शासनको श्री गणेश गराए । रणोद्दीप सिंह जसले संस्कृत पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति दिने व्यवस्था गरे । न्यायालयको स्थापना गराए र भ्रष्टाचार घुसखोरी विरुद्ध कडा कानुन बनाए । यी केही उदार श्री ३ पनि आफ्नै भाइभतिजबाट मारिए । राणा श्री ३ मध्ये देवशमशेर उदार र समयानुसार राजनीति हुनुपर्छ भन्ने मान्यतामा विश्वास गर्ने शासक थिए । उनले गोरखापत्र प्रकाशनको प्रारम्भ गरी शासन व्यवस्थामा सर्वसाधारणको समेत राय पाउने अपेक्षाका साथ सुझाब पेटिका विभिन्न स्थानमा राख्न लगाए । दास प्रथा समाप्त गर्नेतर्फ ध्यान दिए । यसैगरी शिक्षालय स्थापना गर्ने तथा ठोसेको फलाम खानीबाट हातहतियार बनाउन लगाए । दरबार हाइस्कुल सर्वसाधारणका लागि खुल्ला गरे । मुलुकका धेरै ठाउँमा भाषा पाठशाला स्थापना गरे । नेपाली विद्यार्थीहरूलाई जापान अध्ययन गर्न पठाउने योजना बनाए र प्रजातन्त्रप्रति रुचि देखाए । उनी जस्ता उदार व्यक्ति पनि ११४ दिनमा नै पदच्यूत भई काठमाडौँबाट नै निकालिए । राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेर पनि उदारवादी नै थिए । उनले सर्वसाधारण नेपालीलाई रेडियो राख्ने र सुन्ने अनुमति दिए । विसं २००४ सालको वैधानिक कानुन लागु गरी नेपाललाई संवैधानिक मुलुक बनाउन प्रयत्न गरे । कन्याहरूको अध्ययनका लागि पद्मकन्या कलेज खोले । विराटनगर औद्योगिक क्षेत्रमा विभिन्न उद्योगहरू खोल्न लगाए । तर, उनले पनि बाध्य भएर राजीनामा दिनु¥पयो ।
 
विसं २००७ सालपछि सङ्क्रमणकालीन राजनीतिक अवस्थामा प्रधानमन्त्री भएकामध्ये टङ्कप्रसाद आचार्य पनि विविध दृष्टिले योग्य देखिन्थे । उनले चीनसितको सम्बन्धमा सुधार गरेका थिए । पञ्चवर्षीय योजनाको सुरुवात गरे । नेपाल राष्ट्र बैँकको स्थापनालगायत केही रचनात्मक कार्यको सुरुवात उनले गरेका थिए । तर, उनलाई पनि शासनसत्तामा टिक्न दिइएन ।
 
विसं २०१५ सालको संविधानअनुसार भएको निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरी विपी कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । विसं २००७ सालको आन्दोलनले भएको एक उपलब्धि थियो, २०१५ सालको आम निर्वाचन । कांग्रेस सरकारले भूमिसुधार जस्तो क्रान्तिकारी कदम ल्यायो भने संयुक्त राष्ट्रसंघमा नेपालले आफ्नो उपस्थिति देखायो । मित्रराष्ट्र भारत र चीनसितको सम्बन्धलाई परिवर्तित सन्दर्भमा अनुकूल बनाउने प्रयास ग¥यो । साथै सामाजिक तथा आर्थिक क्षेत्रमा नयाँ कार्यक्रम ल्यायो । तर, दुई वर्ष पुग्न नपाउँदै निर्वाचित संसद् निलम्बन भयो र बिपी कोइराला बन्दी बने । प्रजातन्त्रतर्फको यात्रा प्रारम्भमै रोकियो । बिपी कोइरालाको योग्यता र कार्यकुशलताको नेपाली जनताले पहिचान गर्न नै पाएनन् । आजसम्म नेपाली कांग्रेसका सबै नेताहरूले बिपीलाई प्रेरणाको स्रोत मान्दछन् तर उनले देखाएको बाटो भने कोही पनि हिँडेनन् ।
 
राजा महेन्द्रले पनि केही राम्रा कार्यहरूको उठान त गरेका थिए । आर्थिक तथा सामाजिक क्षेत्रमा परिवर्तनका केही सङ्केत त देखिए तर उनको पनि चाँडै मृत्यु भयो । राजा महेन्द्रपछि नेपालमा कुनै योग्य प्रशासक वा शासक देखा परेनन् । यथार्थमा भन्ने हो भने शाहवंशमा पृथ्वीनारायण शाहपश्चात् कोही योग्य राजा थिए भने ती महेन्द्र नै हुन् । बिपी कोइराला र राजा महेन्द्रको रसायन नमिल्दा मुलुकले अपेक्षाकृत उन्नति गर्न नसकेको भने निर्विवाद छ । नेपाली कांग्रेसभित्रको आपसी खिचातानी तथा अन्तरपार्टी द्वन्द्वले नै २०१७ साल पौष १ गते ल्याउन राजालाई मार्गप्रशस्त गरेको थियो ।
 
कांग्रेस वाम एक ठाम भएका कारण २०४६ सालको आन्दोलन सफल भएको थियो । केही समय दुवैको सहकार्य नेपाली राजनीतिमा आवश्यक छ भन्ने सन्देश आन्दोलनले दिएको थियो । आन्दोलनपश्चात् नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सर्वदलीय सरकार बन्यो । छोटो समयमा र कम लागतमा नै नेपालको संविधान २०४७ घोषणा भयो र आम निर्वाचन समेत सोही अन्तरिम सरकारले गरायो । विसं २०४७ सालको निर्वाचनमा तिनै योग्य त्यागी नेता कृष्णप्रसाद भट्टराई निर्वाचनमा पराजित भए । उनको हारका लागि कांग्रेसजन नै उत्तरदायी थिए । विसं २०४७ को निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याई गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए तर आफ्नै पार्टीको हानाथाप घरेलु झगडा आदिका कारण संसद् विघटन भई २०५१ सालमा मध्यावधि निर्वाचन भयो । नेपाली कांग्रेस पहिलोबाट दोस्रो राजनीतिक पार्टीमा झर्न पुग्यो । विसं २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भए ।
 
उनको प्रधानमन्त्रीत्व कालमा देशमा केही राम्रा कामहरू भए । प्रधानमन्त्रीका रूपमा उनको छवि राम्रो बन्न पुगेको थियो । तर, सदनमा उनको पनि बहुमत थिएन अल्पमतमा परी उनले पनि राजीनामा दिए । विसं २०५१ देखि ५५ सम्म नेपालको राजनीतिक मञ्चमा अनेक पात्रले नानाथरिका नाटक देखाए । यो २०४६ को जनआन्दोलनको सन्देश तथा मर्मविपरीत थियो । विसं २०५५ सालमा भएको निर्वाचनमा कांग्रेसले पुनः कृष्णप्रसाद भट्टराईलाई अघि सारेर निर्वाचनमा होमियो । त्यस चुनावमा कांग्रेसले विविध कारणले बहुमत ल्यायो । जसको मुख्य कारण कम्युनिस्टहरू विभाजन हुनु थियो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । तर, विडम्बना उनले काम नै गर्न पाएनन् । कांग्रेसले नै उनको खुट्टा ताने । त्यसपछि विकसित राजनीतिक सुझबुझको अभावमा अस्थिरता आयो । जसबाट राजा ज्ञानेन्द्रको महŒवाकाङ्क्षा बढ्यो । पुनः २०१७ सालको घटनाको पुनरावृत्ति भयो । ज्ञानेन्द्र नै नेपालबाट राजतन्त्र समाप्तिको मौलिक र तत्कालीन कारण बन्न गए । 
 
विसं २०६२–६३ को आन्दोलनपश्चात् संविधान निर्माण गर्न नेपालमा धेरै कसरत, अभ्यास र अनुभव भयो । एक थान संविधान निर्माण गर्नका लागि नेपालीले धेरै ठूलो मूल्य चुकाउनुप¥यो । संविधान नै निर्माण नभई पहिलो संविधानसभा विघटन भयो । दोस्रो संविधानसभाबाट संविधान घोषणा गर्न सुशील कोइराला प्रधानमन्त्री हुनै प¥यो । यो संविधान ल्याउन उनले गरेको प्रयास स्तुत्य छ । नेपालको संविधान २०७२ लागु भएपछि हालसम्म नेपालको राजनीतिमा स्थिरताका कायम हुन सकेको छैन । यसको प्रमुख कारण हो, योग्य शासकको अभाव ।
 
सङ्क्षेपमा भन्नुपर्दा पृथ्वीनारायण शाहले नव नेपाल निर्माण गरेपछि केही योग्य शासक तथा प्रशासकहरू देखापरे । तर, विडम्बना नै भन्नुपर्छ उनीहरूले काम गर्नै पाएनन् । राजनीतिक स्वार्थका कारण मुलुकले ठूलो मूल्य चुकाउनुप¥यो । राजनीतिमा स्थायित्व आएन । यसका कारण नेपाल पछाडि धकेलिँदै गयो । सक्षम शासककै अभावको कारण राणाशासन आयो र गयो । राणाशासनमा पनि योग्यताको कदर नै भएन । योग्य भएर पनि टङ्कप्रसाद आचार्य तथा बिपी कोइरालाले योग्यताको परिचय नै दिन पाएनन् । पञ्चायतमा मरिचमान सिंहले राष्ट्रियताको आत्मसम्मानका लागि केही गर्न त खोजे । तर, मुहानै स्वच्छ नभएकाले बोकाले दाइँ गरे जस्तो भयो । विसं २०४६ पश्चात् कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइराला जस्ता व्यक्तिहरूले राजनीतिमा स्थान नै पाएनन् । त्यसैले होला सतीले श्राप दिएको मुलुक भन्ने गरियो । नेपालीले कहिलेसम्म साधुलाई शूली र चोरलाई चौतारो भएको नाटक हेर्नुपर्ने हो ? यो त भविष्यले नै बताउला ।
 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया