चितवन । गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामवहादुर थापा बादलले नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवसरवादी नेताको संज्ञा दिएका छन् । उनले पार्टीमा फर्केर आए अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना बाँकी रहेको औँल्याएका छन् ।
प्रचण्ड र बादल दुवैको गृहजिल्ला चितवनको भरतपुरस्थित पारस बसपार्कमा आयोजित जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले गल्ती स्वीकार गरेर पार्टीमा फर्किए अझै पनि ताजा जनादेशपछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने बताए ।
बादलले प्रचण्डको नाम उल्लेख नगरी भने, म यो जिल्लाका अवसरवादीलाई आह्वान गर्न चाहन्छु आउनुस् प्रधानमन्त्री हुने अवसर यही निर्वाचनले दिन्छ । आउनुस् यो विशाल जनताले तपाईंलाई त्यो मौका दिनसक्छ । यो सभाले हाम्रो जित घोषित गरिसक्यो, तपाईं पनि पार्टीमा फर्किनुस् । तपाईंहरुलाई मतपत्र च्यात्न आवश्यक छैन । जनताले गल्तीमा माफ दिनेछन् ।
प्रचण्डप्रति आक्रामकरुपमा प्रस्तुत भएका बादलले सर्वोच्च अदालतले संसद् विघटन सदर गरेर प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने प्रचण्डको चेतावनीलाई प्रतिगामी हुँकारको संज्ञा दिए । प्रतिगामी षड्यन्त्र असफल पार्न संसद् विघटन गरिएको बताए ।
उनले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताए । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उनले पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताए ।
आमनागरिक राष्ट्रिय एकताको पक्षमा भइरहँदा अवसरवादीहरु पार्टीबाट किनारा लागेको उनको भनाइ थियो । उनले ‘उनीहरुले देशमा अस्थिरता चाहन्छन्, तर हामी देशलाई स्थायित्व दिन चाहन्छौँ, “स्थायित्वबिना प्रगति सम्भव छैन, समाजवाद स्थापना गर्न सक्दैनौँ”, उनले भने ।








प्रतिक्रिया