मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओली नेतृत्वको नेकपा कमजोर साबित भइसक्यो : कृष्ण पहाडी

ओली नेतृत्वको नेकपा कमजोर साबित भइसक्यो : कृष्ण पहाडी


चितवन । मानवअधिकार तथा शान्ति समाज चितवनका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले वैशाखमा निर्वाचन गराउन नसक्ने जिकिर गरेका छन् । 
 
शान्ति समाज चितवन शाखाको १३औँ जिल्ला परिषद्को बैठकमा शनिबार सम्बोधन गर्दै पहाडीले भने, ‘नेकपाभित्रको आन्तरिक समस्याका कारण केपी ओली नेतृत्वको नेकपा कमजोर भइसकेको छ । प्रधानमन्त्री ओलीले जुनसुकै समयमा पनि प्रतिगामी सोच लिएर राजनीति गर्दै आएका छन् ।’ 
 
जनताले स्थिर सरकार चाहिरहेकै बेला प्रधानमन्त्री ओलीको मगज बिग्रिएकोले संसद् विघटन गरी बहुरुपी चरित्र प्रस्तुत गरेको उनले बताए । भने, ‘त्यसैले तोकेको समयमा उनले निर्वाचन गराउन सक्दैनन् । किनभने ओली नेतृत्वको नेकपा चौंथो स्थानमा झरिसक्यो । ओलीभन्दा अगाडि प्रचण्ड–नेपाल समूहको नेकपा, राप्रपा र कांग्रेस आइसक्यो ।’ 
 
आफूलाई सजिलो हुने वातावरण सिर्जना गर्नको लागि जस्तोसुकै कदम चलाउन पनि पछि नपर्ने ओलीको अतिवादी सोचका कारण जनताले दुःख पाइरहेको उनले बताए ।
 
स्थायी सरकारको नेतृत्व पाए पनि पार्टी र संसद्मा आगो लगाएर खरानी बनाउने काम गरेको उनले बताए । ‘पाँच वर्षको आयु हुँदाहुँदै संसद्को हत्या गर्ने व्यक्तिलाई अब जनताले केका आधारमा भोट दिने ?, उनले प्रश्न गर्दै भने, ‘कोभिडका बेला हप्तौँसम्म हिँडेर घर पुगेका नागरिक खुसी छैनन्, समयमा मल नपाएर रोएका किसान खुसी छैनन् भने अब केपी ओलीले कसको मत खान्छन् ?’ 
 
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङको स्वार्थका कारण संविधान र संसद्को हत्या भएको उनको भनाइ थियो । 
 
वर्तमान परिस्थितिमा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मौन बसेर ओलीकै समर्थन गरेको उनले आरोप लगाए । ‘यस्तो असंवैधानिक कदम चालेका ओलीविरुद्ध हामीले जनस्तरबाटै मुर्दावाद भन्न सक्नुपर्छ,’ उनले भने ।
 
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति काशीराम गिरीले पनि प्रधानमन्त्रीको गलत कदमविरुद्ध सशक्तरुपमा आवाज उठाउनुपर्ने बताए । 
 
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपाका गोपालकृष्ण न्यौपाने, शिक्षक महासंघ धुव पोखरेल, केन्द्रीय सभापति उत्तम पुडासैनी, वरिष्ठ उपसभापति गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्वसचिव राजेन्द्र पौडेललगायतले मन्तव्य राखेका थिए । 
 
शान्ति समाज चितवनको १३ जिल्ला अधिवेशनबाट शम्भु राउतको अध्यक्षमा १५ सदस्यीय कार्यसमितिसमेत चयन गरिएको छ ।