मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री


काठमाडौँ ।  ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेका हुन् । उनले खरिद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने दाबी गरे ।  
 
“कोही पनि खोप लगाउनबाट वञ्चित हुनुहुन्न, खरिद गरेरै भए पनि संवेदनशीलताको आधारमा निःशुल्क वितरण गरिने छ”, प्रधानमन्त्री ओलीले भने, “त्यसका लागि आवश्यक बजेटको तर्जुमा भइसकेको छ ।” शुभारम्भ भएसँगै सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको छ । 
 
यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ । ती सबै अस्पताल प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए । कार्यक्रमको प्रारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले खोप अभियानका विषयमा दिएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सन्देशलाई मार्गनिर्देशनका रुपमा लिएर कार्यान्वयन गर्दै जाने बताए । उनले नेपालमा कोभिडविरुद्ध सक्रिय सबैप्रति आभार प्रकट गरे । 
 
ओलीले नेपालीको जीवन रक्षाका लागि यथाशीघ्र खोप उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे । कोरोनाविरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्दै प्रधानमन्त्री ओलीले खोपले नागरिकको प्रतिरोध क्षमता बढोस् भनी कामना गरे । उनले खोप खेर जान नहुनेमा जोड दिए । 
प्रधानमन्त्रीले छिट्टै खोप लगाउन सुरुआत गर्न पाएकामा खुसी व्यक्त गर्दै आफूले सुरु गरेको हप्ता दिनभित्रै १० लाख मात्रा उपलब्ध गराएकामा भारत सरकार, भारतीय जनता र मुख्यगरी भारतीय समकक्षी नरेन्द्र मोदी तथा खोप निर्माणमा लाग्ने वैज्ञानिकलगायतलाई धन्यवाद दिए ।  
 
उक्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज १२ हजार नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाउने जानकारी दिए । उनले पहिलो चरणको अभियान १० दिनसम्म जारी रहने बताउँदै २८ दिनपछि खोपको दोस्रो मात्रा लगाइने जानकारी गराए । रासस