मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’ : डा कोइराला

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’ : डा कोइराला


महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।  कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राखे ।
 
“हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो”, कोइरालाले भने, “पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।” त्यसैगरी पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उनले बताए ।
 
“जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशीलको नामावली अझै आउन सकेको छैन”, उनले भने, “समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।” मातृशोकमा रहेका नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो । 
 
यसैबीच, डा कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताएका छन् । कांग्रेस कैलालीले धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा पनि उनले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गरे ।  
 
“तेरो र मेरो नभनीकन सबै एकजुट भएर उभिनुप¥यो” महामन्त्री कोइरालाले भने, “आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।” उनले  कांग्रेसको भविष्य उज्ज्वल रहेको तर यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । रासस