मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याउँछौँ : प्रचण्ड

प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याउँछौँ : प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गरेका छन् । 
 
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिए । 
 
अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ भन्ने चिन्ता आफूलाई रहेको उनले बताए । विसं २०६२/०६३ को जनआन्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उनले नेपाली जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने विचार व्यक्त गरे ।  
  
उनले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएपछि राजनीतिक स्थायित्व होस्, रोजगारी सिर्जना होस्, आर्थिक समृद्धि होस् भन्ने चाहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै जनताका पक्षमा काम हुन नसकेको आरोप लगाए । 
 
“निर्वाचनका माध्यमबाट नेकपाले दुई तिहाइ जनमत प्राप्त गरेपछि सबै क्षेत्रमा न्याय, सुशासन र समृद्धिको नयाँ युग सुरु हुनेछ, अप्ठ्यारोमा परेका जनतालाई कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले राहत दिन्छ भन्ने सोचिएको भए पनि हामीले त्यसो गर्न सकेनौँ”, उनले भने, “कम्युनिस्ट पार्टीले झण्डै दुई तिहाइ बहुमत ल्याएपछि घोषणापत्रमा भनेजस्तै गर्न नखोजेको भने होइन, पार्टी एकता बखत भएका सहमति, समझदारी लागू गर्नबाट ओली पछि हट्नुभयो ।”
 
सहमति गर्ने तर लागू नगर्ने, प्रधानमन्त्री पाउनका लागि जे पनि सहमति गरिदिने तर सत्ता प्राप्त गरेपछि एउटा पनि कार्यान्वयन नगर्ने लक्षण सुरुदेखि नै आभास भएको पनि उनले टिप्पणी गरे । “हामीले त्यसका विरुद्ध पनि बहस र सङ्घर्ष गरेका थियौँ । हामीले तीन वर्षमा प्रधानमन्त्रीलाई तह लगाउन सकेनौँ, हाम्रा पनि केही कमीकमजोरी रहे”, अध्यक्ष दाहालले भने ।
 
 ‘पार्टी विधान नमानेकाले’ प्रधानमन्त्रीका विरुद्ध आफूहरुले पार्टी कमिटीभित्र सङ्घर्ष गर्दै आएको उनले बताए । “यति गर्दा पनि प्रधानमन्त्रीलाई सच्चाउन सकिएन, म आत्मालोचना गर्न चाहन्छु”, उनले भने, “आज आएर प्रधानमन्त्रीले पार्टी विधान, पार्टीभित्र भएका सहमति नमान्ने मात्र होइन, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नमानेर विध्वंसतर्फ जाने काम गर्नुभयो ।”
 
अध्यक्ष दाहालले अब पार्टीभित्र विधान र निर्णय नमान्ने प्रवृत्तिलाई उदार भएर अगाडि जान नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । “हामीले उहाँलाई मात्र दोष दिएर चोखो हुन्छौँ भन्ने लाग्दैन । त्यस्तो खालको भूल अब हामी गर्ने छैनौँ”, उनले भने । अध्यक्ष दाहालले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएकोसमेत बताए । रासस