मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।  
 
गत पुस १० गते प्रदेश सरकारका तीन मन्त्रीसहित सत्तापक्षका ४५ प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासका प्रस्तावमा मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई अगाडि सारिएको छ । 
 
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न प्रस्तावको पहिलो हस्ताक्षरकर्ता निवर्तमान मन्त्री नेपाललाई समय दिएका थिए ।  
अविश्वास प्रस्ताव प्रस्तुत गर्दै निवर्तमान मन्त्री नेपालले कोभिड नियन्त्रणमा प्रदेश सरकारले कुनै पनि भूमिका खेल्न नसकेको, अपराध न्यूनीकरण, महँगी नियन्त्रणलगायत काममा ध्यान नपु¥याएको, समाजवादोन्मुख काम गर्न नसकेको, गरिबी नियन्त्रणमा काम गर्न नसकेको आरोप लगाए । 
 
नेकपा दाहाल–नेपाल समूहका नेपालले आफूले प्रदेश सरकारले गर्नुपर्ने कामको बुँदा प्रस्तुत गर्दासमेत कार्यान्वयन नभएको आरोप लगाउँदै सरकारको औचित्यता पुष्टि चुनौती दिए । निवर्तमान मन्त्री नेपालले संघीयताका बारेमा जनमत लिनुपर्ने माग पनि गरे । अविश्वासको प्रस्ताव प्रस्तुतिसँगै प्रदेशसभाको बैठक माघ १९ सम्मका लागि स्थगन भएको छ । प्रदेशसभाको आगामी बैठक सो दिन अपराह्न २ बजे बस्ने जनाइएको छ । रासस