मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई


टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी देशलाई गम्भीर सङ्कटमा धकेलेको बताएका छन् । 
 
सो पार्टीद्वारा टीकापुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले संसद् विघटन हुँदा लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने जोखिम बढेको बताए । 
 
अध्यक्ष डा भट्टराईले भने, “अहिले मुलुक गम्भीर सङ्कटमा उभिएको छ । यो बेला सबै राजनीतिक दल, नागरिक समाज एक ठाउँमा उभिनुपर्ने बेला आएको छ ।” संसद् विघटन गरी वैशाखमा घोषणा गरेको चुनाव हात्तीको देखाउने दाँतमात्र भएको उल्लेख गर्दै उनले वैशाखमा कुनै हालतमा पनि चुनाव हुन नसक्ने बताए । 
 
पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “कांग्रेस, जसपालगायतका दलहरुले चुनाव आउँछ भनेर ¥याल काढ्ने समय यो होइन । अहिले सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताको पक्षमा उभिनुपर्ने बेला हो ।” उनले हामी संसद् पुनःस्थपनाको पक्षमा छौँ भन्दै जुनसुकै हालतमा पनि संसद् चलायमान हुनुपर्छ । जनताको जनमतको कदर गर्न पनि न्यायालयले न्याय गर्नेमा आफू विश्वस्त रहेको बताए । 
 
पूर्वप्रधानमन्त्री डा भट्टराईले संसद् विघटनसँगै अन्तर्राष्ट्रिय शक्ति पनि नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेको बताउँदै नेपालले आफ्नो आन्तरिक मामिला आफैँ हल गर्नसक्ने भएकाले त्यसतर्फ नलाग्न ती शक्तिलाई आग्रह गरे । रासस