मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप


काठमाडौँ । नेपाललाई भारत सरकारले कोभिड–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो ।   
 
उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि खोप अनुदान सहायतास्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ ।  
 
बुधबार मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ह्रदयेश त्रिपाठीले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले छिट्टै खोप आइपुग्ने जानकारी दिए । मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूल अवस्थामा पनि औषधिलगायत आपूर्ति जारी राखेकामा सराहना व्यक्त गर्दै खोप अनुदान सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए ।
 
सीमित देशका सीमित क्षेत्रमा मात्रै खोप उत्पादन हुँदै आएको जानकारी दिँदै उनले भारतले दिन लागेको खोप नेपाली परिवेशअनुसारको भण्डारण र ढुवानी गर्न सक्ने रहेको  बताए । खोप उपलब्ध हुनुलाई नेपाल–भारतका बीचको मित्रताको अनुपम उदाहरणका रुपमा लिँदै उनले भारत नेपाल र छिमेकीका विषयमा उपयुक्त निर्णय गरी अघि बढेकामा धन्यवाद दिए ।  
 
आगामी दिनमा पनि खोपको खरिदमा भारत सरकारको सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ थियो । उनले अहिले उपलब्ध खोप पर्याप्त नभएकाले बाँकी पारदर्शीरुपमा खरिद प्रक्रिया अघि बढाइने बताए । 
 
भारतीय राजदूत क्वात्राले भारतमा खोप बनेको एक हप्ताभित्रै खोप पाउने केही मुलुकमध्ये नेपाल एक रहेको जानकारी गराए ।“खोप आउनु भनेको यहाँका जनता पहिलो प्राथमिकतामा पर्नु, दुई देशको मित्रता प्राथमिकतामा पर्नु हो र छिमेकीलाई पहिलो प्राथमिकतामा राख्नु हो”, राजदूत क्वात्राले भने, “यसको प्रभावकारिता ७० प्रतिशत हुने अति महत्त्वपूर्ण कुरा हो ।” उनले नेपालमा पनि खोपको सफल उत्पादनको आशा व्यक्त गरे । उनले विश्वमा सफल खोपमध्ये दुई भारतमा बनेको जानकारी दिए । 
 
नेपालसँगको सुरुआती चरणदेखि नै सहकार्य रहेको जानकारी गराउँदै उनले यसअघि पनि औषधीय सामग्री र उपकरणको आदानप्रदान भएको स्मरण गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै उनले भारतको कोभिडविरुद्धको खोप उत्पादन तथा निर्यात क्षमता सबै वर्गका लागि लाभदायी हुने विश्वास व्यक्त गरे । सोहीअनुसार भारतले अनुदानका रुपमा खोप उपलब्ध गराउन लागेको उनले जानकारी दिए । प्रक्रिया पूरा गरी केही दिनभित्रै खोप नेपाल आइपुग्नेसमेत उनले बताए ।
 
राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी नेपाल भारत संयुक्त आयोगको बैठकको महत्त्वपूर्ण विषय कोभिडविरुद्धको खोप रहेको र समकक्षी भारतीय विदेशमन्त्री डा सुब्रमन्यम जयशङ्करसँग खोपका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको थियो भने । उनले कोभिड¬–१९ विरुद्ध दुवै देश संयुक्त रुपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । 
 
खोप अभियानको तयारी पूरा 
 
मन्त्री त्रिपाठीले नेपालमा खोप अभियानका लागि सबै तयारी पूरा भएको जानकारी दिए । उनले खोप ल्याउने क्रममा कुनै पनि जटिलता नरहेको बताए । 
 
“खोपका लागि उपयुक्त ७२ प्रतिशतमध्ये तीन प्रतिशत सफाइकर्मी, चिकित्साकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र एम्बुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने छ”, मन्त्री त्रिपाठीले भने, “यसका लागि कानुनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भएको छ ।” रासस