मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पबाट बच्न र बचाउन दृढ सङ्कल्प आवश्यक : गृहमन्त्री

भूकम्पबाट बच्न र बचाउन दृढ सङ्कल्प आवश्यक : गृहमन्त्री


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन सबैमा दृढ सङ्कल्प आवश्यक रहेको बताएकमा छन् । 
 
‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आयोजित २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन गर्दै उनले भूकम्पबाट आफ्नो सुरक्षा आफैँले गर्ने भएकाले दृढ सङ्कल्प आवश्यक रहेको बताएका हुन् । 
 
“हरेक वर्ष नयाँ सङ्कल्प गर्दै आएका छौँ, भूकम्प विरुद्ध दृढ सङ्कल्पसहित उभिने छौँ, सचेत रहने छौँ भन्ने सङ्कल्प यसवर्ष पनि ग¥यौँ”, उनले भने, “भूकम्पको सामना गर्न  सचेतना, जागरण फैलाउँदै जागरुक भएर ज्ञान हासिल गर्न सक्यौँ भने यसको जोखिमबाट आफूलाई रक्षा गर्न सक्छौँ ।” भविष्यमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन चुनौतीको सामना गर्दै परस्पर समन्वय, सहकार्य तथा सहयोग आवश्यक रहेको छ भन्दै उहाँले आगामी दिनमा आउन सक्ने विपत्तिको सामना गर्न पूर्वतयारी आवश्यक रहेको औँल्याए ।
 
गृहमन्त्री थापाले भने, “विपत्तिबाट बच्न र बचाउने उद्देश्यले राज्यले माथिदेखि तलसम्म विभिन्न संरचना निर्माण गरेको छ, विभिन्न सङ्घसंस्था गठन गरेको छ, लाखौँको सङ्ख्यामा स्वयंसेवक गठन गर्दैछ, यिनीहरुको बीच पनि समन्वय, सहकार्य र सहयोग गरेमात्रै जोखिम न्यूनीकरण गर्न सक्छौँ ।” 
 
उनले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको छ भन्दै यस प्रकारको दिवसले पनि आमनागरिकमा यसबाट बच्न आउँदो पिँढीसमेतलाई सचेतना प्रदान गर्ने बताए । त्यसअवसरमा गृहमन्त्री थापाले भूकम्प सुरक्षा डिजिटल प्रर्दशनीको उद्घाटनसमेत गरे ।  
 
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले ०७२ सालको भूकम्पमा भएको क्षतिमध्ये ९१ प्रतिशत जनताले निजी आवासको पुनःनिर्माण सम्पन्न गरेको बताउँदै सरकारले तीन लाख अरु लगानी जनता आफैँले गरेको बताए । उनले सात हजार ५५३ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा करिब छ हजार सम्पन्न भएको, करिब ९२० सम्पदा पुनःनिर्माण गर्नुपर्नेमा ६१ प्रतिशत सम्पन्न भएको भन्दै अहिले बनेका करिब आठ लाख घर सुरक्षित घर बनेको बताए ।
 
ज्ञवालीले जनताले अहिले भूकम्पबाट कसरी सुरक्षित रहने भन्ने जानेको, एक लाख तालिम प्राप्त निर्माणकर्मी उत्पादन भएको, सात हजार तालिम प्राप्त इन्जिनियर तयार भएको बताउँदै क्षतिसँगै भूकम्पले धेरै पाठ सिकाएको भनाइ राखे । 
 
त्यस अवसरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठ, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीलगायतले भूकम्पको जोखिम र सुरक्षाको अवस्थाकाबारेमा चर्चा गरेका थिए । 
 
कार्यक्रमका सभापति एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भूकम्पको जोखिमबाट बच्ने र बचाउने सन्दर्भमा स्थानीय निकायले पनि सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको औँल्याए । रासस