मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना : परराष्ट्रमन्त्री ज्ञवाली

वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पुर्‍याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्न सहमत नेपाल र भारतले एउटा क्षेत्रको मतभिन्नताका बाबजुद पारस्परिक सम्बन्धका समग्र आयामलाई निरन्तर गति दिइरहेका बताएका छन् ।  
 
भारतीय विश्व सम्बन्ध परिषद्ले शुक्रबार नयाँ दिल्लीमा आयोजना गरेको प्रवचनमा उनले नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटर अन्तर्राष्ट्रिय सिमानामध्ये केही किलोमिटर खण्डको मात्र सिमांकनको काम बाँकी रहेको यथार्थ सुनाउँदै त्यसको पूर्णताका निम्ति संवाद गर्न नेपाल तयार रहेको तथा निष्कर्षमा पुग्न विश्वास र दायित्वको दायरालाई विस्तारित गर्नुपर्नेमा जोड दिए ।
 
नेपालको बाह्य सम्बन्धका प्राथमिकता आफ्ना अन्तर्राष्ट्रिय सिमानाबाट प्रारम्भ हुने तथा भारतसँगको सम्बन्धको आधारशिलालाई अझ मजबुत तुल्याउने स्पष्ट लक्ष्य र उद्देश्य रहेको उनले बताए । राजनीतिक एवं आर्थिक सामथ्र्यले विश्वशक्ति राष्ट्रका रुपमा अघि बढेको भारतले गरेको उल्लेखनीय प्रगतिबाट नेपाल हर्षित रहेको तथा दुवै देशका आ–आफ्नै आकांक्षा रहेका बताउँदै मन्त्री ज्ञवालीले स्थिर र समृद्ध नेपाल निर्माण नै तीन करोड नेपालीको अभिलाषा रहेको प्रष्ट्याए । 
 
कोभिड–१९ विरुद्धको खोप सफलतापूर्वक विकास गरेकामा भारतका वैज्ञानिक, शोध एवं अनुसन्धान केन्द्र, नवप्रवर्तक कम्पनीप्रति बधाई ज्ञापन गर्दै उनले छिमेकीका नाताले नेपाललाई पनि खोप प्राप्त हुने आशा व्यक्त गरे । 
 
सार्वभौमिक समानताका सिद्धान्त, पारस्परिक सम्मान र अहस्तक्षेप नेपाल र नेपालीका निम्ति  राष्ट्रिय गौरवका अतिमूल्यवान मान्यता हुन् भन्दै उनले कसैप्रति दुराशय नराख्ने र सबैप्रति मैत्री कायम गर्ने नेपालको उद्देश्य भएको बताए । 
 
तीन वर्षअघि नयाँदिल्लीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्धलाई समानता, पारस्परिक सम्मान, न्याय, समझदारी, एक–अर्काका चासो र संवेदनशीलताका सबल आधारमामा स्थापित एक्काइसौँ शताब्दी सुहाउँदो अग्रगामी बनाउन चाहेको नेपालको अभिव्यक्ति स्मरण गराउँदै मन्त्री ज्ञवालीले सुदृढ आधारस्तम्भमा रहेको द्विदेशीय मैत्रीलाई अझ घनिभूत तुल्याउन सावधानीपूर्वक अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।  
 
परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्धका सबै पक्षको समीक्षा गरी त्यसलाई अझ उन्नत बनाउने सुझाव पेश गर्ने कार्यादेशयुक्त प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन स्वीकार गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने खाँचो मन्त्री ज्ञवालीले औँल्याए । 
 
नेपालमा जलविद्युत् विकासका अपार संभावनाको चर्चा गर्दै उनले पञ्चेश्वर बहुद्देशीय परियोजना, स्वतन्त्र विद्युत् व्यापार, जल र रेलमार्ग, अन्तरदेशीय यातायात, पारबहनलगायत सम्पर्क सञ्जाल विस्तार तथा भारतसँगको व्यापार असन्तुलन घटाउन नेपालको प्रयासमा भारतसहितका नेपालको विकासका साझेदारबाट पूर्वाधार निर्माणमा लगानीका प्रशस्त अवसर रहेको बताए । रासस